रूपन्देही–लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुले आयुर्वेद चिकित्सा उपचार पद्धतिलाई मूल धारमा ल्याउनुपर्ने बताएका छन् ।
त्यसका लागि प्रदेश सरकारले आवश्यक नीति, जनशक्ति र पूर्वाधारमा सहयोग गर्ने उनले जानकारी दिए । राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती अवसरमा लुम्बिनी आयुर्वेद चिकित्सालयद्वारा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्रीले आयुर्वेद पद्धतिलाई अनुसरण गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
मन्त्री चौधरीले हाल बढी प्रचलनमा रहेको एलोप्याथिक र आयुर्वेद पद्धतिलाई सन्तुलनमा ल्याउन सके मात्र यसको प्रभावकारित बढी देखिने धारणा व्यक्त गरे ।
मन्त्री चौधरीले भने, ‘आयुर्वेद भनेको रोग लाग्न नदिने अवस्था हो । अहिले पनि यसप्रति चेतना अभाव रहेकाले त्यसलाई हटाउन सक्नुपर्छ ।’
कार्यक्रममा स्वास्थ्य सचिव डा. विकास देवकोटाले लुम्बिनी आयुर्वेद चिकित्सालयमा पूर्वाधार तथ आयुर्वेद विकासका लागी बजेट अभाव हुन नदिइने बताए । लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीले मानसिक तनाव व्यवस्थापनका लागि योग र आयुर्वेद महत्त्वपूर्ण हुन सक्ने जिकिर गरे ।
प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय आयुर्वेद महाशाखा प्रमुख डा. पुष्पराज पौडेलले हाल आयुर्वेदको विकासका लागि विश्व स्वास्थ्य संगठनले भनेजस्तै ६ वटा विषयलाई अघि बढाउनुपर्नेमा जोड दिए ।
विश्व स्वास्थ्य संगठनले भनेजस्तै नेतृत्व सुशासन, पूर्वाधार विकास, पर्याप्त जनशक्ति, स्वास्थ्य सेवा प्रणाली, आयुर्वेद सूचना प्रणाली र व्यवस्थापनलगायतमा धान ध्यान दिनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा बुटवल उपमहानगर उपप्रमुख गुमादेवी आचार्यले उपमहानगरले योग र आयुर्वेदलाई प्राथमिकता दिई सहरी स्वास्थ्य केन्द्रबाट आयुर्वेद सेवा दिँदै आएको जानकारी दिइन् ।
लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा. नलिनाथ तिवारीले जनशक्ति, बजेट र पूर्वाधार अभाव रहेको बताए । उनले भने, ‘अहिले जनशक्ति अभावमा काममा समस्या भएकाले प्रदेश सरकारले सहज बनाउनुपर्छ ।’
आयुर्वेद चिकित्सालय विकास समितिका अध्यक्ष शिव ज्ञवालीले १५ बेडको अस्पताल सञ्ञ्चालनका लागि तयारी थाले पनि जग्गा र बजेट अभाव भएको सुनाए । बुटवल, सैनामैनालगायतका ठाउँमा अस्पताल निर्माणका लागि जग्गा व्यवस्था गरिदिन उनले स्थानीय सरकारलाई आग्रह गरे ।
कार्यक्रममा संस्थाका वैद्य तथा योग– आयुर्वेद अभियन्ता विष्णुहरि आचार्य, विभिन्न टोल संस्थाका प्रमुखलगायत उपस्थित थिए ।