close

विश्वकै आठौँ प्रदूषित सहर बन्यो काठमाडौं

विश्वकै आठौँ प्रदूषित सहर बन्यो काठमाडौं

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपालको संघीय राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा परेको छ । वायु गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा रहेको छ ।

 

लाहोरको वायु गुणस्तर सूचकांक पिएम–२.५ (पार्टिकुलेट म्याटर) को मात्रा प्रतिघन्टा ४०७ माइक्रोग्राम प्रतिघनमिटर छ । यसलाई घातक मानिन्छ । नेपालमा पनि यो सूचकांक ५ सयसम्म नाघ्ने गरेको छ । 

 

शनिबार बिहान काठमाडौंमा पिएम–२.५ को मात्रा प्रतिघन्टा १७६ सम्म पुगेको आइक्युएरको तथ्यांकमा उल्लेख छ । यो सूचकांक १५१ नाघेमा अस्वस्थकर मानिन्छ । वातावरण स्वास्थ्यविज्ञ यादवराज जोशीले काठमाडौंमा दुई दिनयता बदली हुँदा वायु प्रदूषण बढ्दै गएको बताए ।

 

दोस्रोमा दक्षिण कोरियाको इनचोन, तेस्रोमा भारतको राजधानी नयाँदिल्ली, किर्गिस्तानको बिस्केक, पाँचौँमा भारतको कोलकाता, छैटौँमा क्रोसियाको जागरेब, सातौँमा बंगलादेशको ढाका र आठौँमा नेपालको काठमाडौं परेको छ । 

 

नेपालमा वातावरण विभागले काठमाडौंसहित मुलुकका विभिन्न सहरमा राखेको वायु गुणस्तर मापन केन्द्रको तथ्यांकअनुसार प्रदूषण बढ्दै गएको पाइएको छ । शनिबार बिहानको तथ्यांकअनुसार काठमाडौंसहित पाँच सहरको वायु प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ । 

 

पिएम २.५ को मात्रा प्रतिघन्टा हेर्दा पोखरामा १८४, विराटनगरमा १७६, काठमाडौंको रत्नपार्कमा १५१, कीर्तिपुरमा १५६, सिमरामा १५४ पुगेको छ । धनकुटा, धनगढी, महेन्द्रनगरमा पनि प्रदूषण बढिरहेको छ ।ती सहरको वायु गुणस्तरको मात्रा राष्ट्रिय मापदण्डभन्दा बढी रहे पनि रेड जोनमा परिसकेका छैनन् ।