close

व्यास नगरपालिकाद्वारा  ९ सय ज्येष्ठ नागरिकको निःशुल्क आँखा जाँच 

व्यास नगरपालिकाद्वारा  ९ सय ज्येष्ठ नागरिकको निःशुल्क आँखा जाँच 

Trulli
ADVERTISEMENT

तनहुँ– तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट करिब नौ सय ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । तीन दिनसम्म आयोजित शिविरबाट नगर क्षेत्रभित्र बसोबास गर्ने आठ सय ८४ ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । 

 

नगरपालिकाले बिहीबारदेखि शनिबारसम्म दमौलीस्थित बाल मन्दिर माध्यमिक विद्यालयमा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा आँखा शिविर आयोजना गरेको थियो । शिविरमा चार सय ५९ महिला र चार सय २५ पुरुषको आँखा परीक्षण गरिएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । 

 

व्यास नगरपालिका–१ का ४५ महिला र ३६ पुरुष, व्यास नगरपालिका–२ का एक सय १३ महिला र ८९ पुरुष, व्यास नगरपालिका–३ का ४४ महिला र ३५ पुरुष, व्यास नगरपालिका–४ का ४५ महिला र ३४ पुरुष, व्यास नगरपालिका–५ का २८ महिला र २५ पुरुष, व्यास नगरपालिका–६ का २६ महिला र २९ पुरुष, व्यास नगरपालिका–७ का आठ महिला र चार पुरुषको आँखा परीक्षण गरिएको छ । 

 

यसैगरी व्यास नगरपालिका–८ का सात महिला र २९ पुरुष, व्यास नगरपालिका–९ का ३३ महिला र १९ पुरुष, व्यास नगरपालिका–१० का २० महिला र २९ पुरुष, व्यास नगरपालिका–११ का २४ महिला र २२ पुरुष, व्यास नगरपालिका–१२ का २५ महिला र २६ पुरुष, व्यास नगरपालिका–१३ का २९ महिला र ३१ पुरुष, व्यास नगरपालिका–१४ का १६ महिला र १७ पुरुषले आँखा परीक्षण गराएको नगरपालिकाले जनाएको छ । 

 

त्यसमध्ये २१ महिला र २१ पुरुष गरी ४२ जनामा मोतियाविन्दु देखिएकाले उनीहरुको नगरपालिकाले नै निःशुल्क शल्यक्रिया गराइदिने प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताए । शिविरमा हिमालय आँखा अस्पतालका डा धर्मेन्द्र घोरासैनी नेतृत्वको टोलीले ज्येष्ठ नागरिकको आँखा परीक्षण गरेको थियो ।

 

उमेर ढल्किँदै जाँदा आँखासम्बन्धी समस्याका कारण कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्यले सबै वडा समेटिने गरी शिविर सञ्चालन गरिएको सिग्देलले बताए  । ‘ढल्किँदो उमेरसँगै आँखाको ज्योति कमजोर हुन्छ । ज्येष्ठ नागरिकका सामान्य दैनिकी समेत प्रभावित हुने हुँदा शिविर आयोजना गरेका हौँ,’ उनले भने, ‘शिविर प्रभावकारी भएको ठहर गरेका छौँ ।’