रूपन्देही– लुम्बिनी प्रादेशिक अस्पताललाई १२ सय शय्यामा सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्यांकन मस्यौदामा छलफल तथा सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको छ । छलफलमा वातावरणीय प्रभाव मूल्यांकनमा देखिएका समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी काम अघि बढाउनुपर्ने सहभागीले बताए ।
प्रदेश पूर्वाधार विकास प्राधिकरण प्रमुख कार्यकारी अधिकृत ई. अनन्तराज घिमिरेले लुम्बिनी प्रादेशिक अस्पताललाई नेपालकै नमुना अस्पताल बनाउने गरी प्रदेश सरकारले बजेट विनियोजन गरेकाले तत्काल काम अगाडि बढाउनुपर्नेमा जोड दिए ।
अस्पतालमा भएका वातावरणीय समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने र वातावरण ऐनका आधारमा अस्पतालको पूर्वाधार अगाडि बढाएर सबै सेवा सञ्चालन गर्ने गरी १२ सय शय्याको बनाउने विषयमा छलफल गरिएको हो । अस्पताल मेसु डा. इन्द्र ढकालले अस्पतालले सहज रूपमा सेवा दिन हाल पूर्वाधार अभाव रहेको र पूर्वाधार बनेपछि थप सेवा विस्तार गरिँदै लैजाने बताए ।
छलफलमा औषधी व्यवसायी संघका अध्यक्ष सुरज भट्टराई, यातायात तथा मजदुर भलाइ कोषका अध्यक्ष दिनेश फुल्देल, रूपन्देही व्यापार संघ अध्यक्ष यमलाल लोहनीलगायतले लुम्बिनी प्रादेशिक अस्पताललाई १२ सय शय्यामा सञ्चालन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।
वातावरणीय प्रभाव मूल्यांकन मस्यौदा सुनुवाइ कार्यक्रममा अस्पताल विकास समितिका सदस्य रिज्यु श्रेष्ठ, विभागीय प्रमुख डा. श्रीधर आचार्य, डा. नेत्र राना, डा. प्रभाकर चौधरी, डा. मनिकलाल नेवा, डा. किशोर खत्री, फार्मेसी अधिकृत पदम खनाल, नर्सिङ इन्चार्ज ज्योति पौडेललगायत सरोकारवाला सहभागी थिए ।
कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।