दाङ– प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार पूर्ति गर्न सुरक्षित गर्भपतनले महिलाको स्वास्थ्यमा आउने जोखिम कम गर्न सकिने सरोकारवालाले बताएका छन् । सुरक्षित गर्भपतन सेवा हाम्रो प्रतिबद्धता, कोभिड–१९ महामारीमा पनि सेवाको सुनिश्चितता नारासहित दाङमा सुरक्षित गर्भपतन दिवस, २०७८ अवसरमा गरिएको छलफलमा उक्त कुरा बताइएको हो ।
सरकारले बिहेबारी २० वर्षपारि उद्देश्य राखेर विवाहको न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, दाङमा अभैm पनि सानो उमेरमै गर्भ पतन गराउनेको संख्या धेरै रहेको स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ ।
दाङमा आर्थिक वर्ष २०७७÷७८ मा २० वर्षमुनिका २९३ जनाले सुरक्षित गर्भपतन गराएका छन् । १३२ महिलाले औषधीबाट गर्भपतन गराएका छन् भने १६१ जनाले औजार प्रयोगबाट गर्भपतन गराएको स्वास्थ्य कार्यालयले बताएको छ ।
२० वर्षमाथिका जम्मा २ हजार ५३ जनाले सुरक्षित गर्भपतन गराएका छन् । यीमध्ये १ हजार १ सय ७२ महिलाले औषधीबाट गर्भपतन गराएका छन् भने ८ सय ८१ जनाले औजार प्रयोगमार्फत गर्भपतन गराएका छन् । एक वर्षमा २ हजार ३ सय ४६ जनाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालय दाङको तथ्यांक छ ।
परिवार नियोजन दाङ शाखामा आर्थिक वर्ष २०७७/७८ मा ४८७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । यीमध्ये २० वर्षमुनिका ३५ र २० वर्षमाथिका ४५२ जनाले सुरक्षित गर्भपतन सेवा लिएको प्रबन्धक वसन्त खनालले बताए ।
कार्यक्रममा परिवार नियोजन दाङमा कार्यरत डा. अमित लामगादेले महिलाले अनिच्छत गर्भलाई सुरक्षित रूपमा पतन गराउने गरेको जानकारी दिए । गर्भपतनलाई परिवार नियोजनको साधनका रूपमा लिन नहुने उनको धारणा छ ।
अस्थायी साधनको प्रयोग गरेर सुरक्षित हुनु बुद्धिमानी हुन्छ । तर, पछिल्लो समय गर्भपतनलाई परिवार नियोजनका साधनको रूपमा प्रयोग गर्ने क्रम बढेकाले पटक–पटक गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा असर पर्ने उनले बताए । घोराही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइने सुरक्षित गर्भपतन सेवालाई निजी स्वास्थ्य संस्थामा गएर महँगो शुल्क तिर्न नहुने सुझाव दिए ।
स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण परिवार नियोजन दाङका प्रबन्धक खनालले गरेका थिए ।