भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिका ६० वर्ष उमेर पूरा भएका स्वास्थ्य स्वयंसेविकालाई बिदाइ गरेको छ । पालिकाको नीति तथा कार्यक्रमअनुसार १२ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरिएको हो ।
कार्यक्रममा स्वयंसेविकालाई ४० हजार रुपैयाँ नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । स्वयंसेविकाले पाएको उक्त रकममध्ये संघीय सरकारका तर्फबाट २० हजार तथा नगरपालिकाका तर्फबाट जनही २० हजार रुपैयाँ रहेको छ । कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले नगरपालिकाले अहोरात्र खटिने स्वयंसेविकाको सम्मानमा शतप्रतिशत प्रोत्साहन रकम थप गरेको बताए ।
अहिले सूर्यविनायकका १० वडामा ७२ जना स्वास्थ्य स्वयंसेविका कार्यरत रहेको स्वास्थ्य शाखा प्रमुख वसन्तप्रसाद चापागाईंले बताए । ३० वर्षदेखि स्वास्थ्य स्वयंसेविकाले नगरपालिकामा पुर्याएको योगदानको चर्चा गर्दै महिला घरबाहिर निस्किन हिच्किचाउने समयदेखि स्वास्थ्य स्वयंसेविकाले झोला बोकेर हिँड्न सक्नु गर्वको विषय भएको उल्लेख गरे ।
बिदा हुन लागेका स्वास्थ्य स्वयंसेविकाले आफ्नो क्षमताले भ्याएसम्मको स्वयंसेवा गरेको भन्दै नगरपालिकाले सम्मानसहित गरेको बिदाइले खुसी बनाएको प्रतिक्रिया दिए ।