जुम्ला– राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक टोली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला आइपुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रहेका विभिन्न उपकरणको अवस्था बुझ्न तथा बिग्रेका बनाउन आविष्कार केन्द्रको टोली जुम्ला पुगेको हो ।
आइतबार कर्णाली प्रतिष्ठान जुम्ला पुगेको राष्ट्रिय आविष्कार केन्द्रका वायो मेडिकल इन्जिनियर सञ्जयबहादुर सिंह र उमेश किराँतीसहित ७ जनाको टोलीले प्रतिष्ठानका विभिन्न उपकरणको अवस्था अवलोकन तथा मर्मतसम्भार गरेको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका वायो मेडिकल इन्जिनियर अर्जुनबहादुर सिंहले दुर्गमका अस्पतालको उपकरण मर्मत तथा अवलोकनका क्रममा सुर्खेत, कालीकोट हुँदै आविष्कार केन्द्रको टोली जुम्ला आएको बताए । उनले भने, ‘टोलीले प्रतिष्ठानका अक्सिजन कन्सन्ट्रेटर तथा ल्याबका गरी २÷३ वटा उपकरण मर्मत गरेको छ । आइसियु, भेन्टिलेटर, ल्याब, ओटी, भिडियो, अडियो एक्सरेलगायत विभिन्न मेसिनरी उपकरणको अवलोकन गरेको छ ।’
राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक टोली जुम्लामै पुगेर उपकरण मर्मत, अवलोकन तथा आवश्यक ज्ञान दिएकामा राहत मिलेको प्रतिष्ठानका वायो मेडिकल इन्जिनियर सिंहको भनाइ छ । उनले भने, ‘केही उपकरको वारेन्टी नै सकिएको हुन्छ । तर, कहाँ, के समस्या भयो भन्ने सजिलै थाहा पाउन मुस्किल हुन्छ । बिजुलीको समस्याले बिग्रेका उपकरण मर्मत गर्न उत्तिकै समस्या थियो । तर, आविष्कार केन्द्रको टोलीले केही मेसिन मर्मत र केही मेसिनको समस्या पत्ता लगाएको छ ।’
दुर्गममै पुगेर उपकरणको मर्मत गर्दा कर्णाली प्रतिष्ठानलाई राहत भएको प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले बताए । उनका अनुसार आविष्कार केन्द्रको टोलीसँग प्रतिष्ठानका उपकरण मर्मत डिपार्टमेन्टका कर्मचारीले छलफल तथा परामर्श गरे । आविष्कार केन्द्रले मर्मतका लागि थप्नुपर्ने उपकरण अनुदानमा उपलब्ध गराउनेछ ।
अस्पताल निर्देशक डा. राजीव शाहले आविष्कार केन्द्रको प्राविधिक टोली जुम्ला आउँदा कर्णाली प्रतिष्ठानले धेरै लाभ लिएको बताए । उनले भने, ‘सबै उपकरण सधैँ राम्रै हुन्छन् भन्ने छैन । हामीले सेवा दिइरहेका उपकरणमा पनि केही खराबी हुन सक्छन् । ती समस्या पत्ता लगाउन प्रतिष्ठानमै आएर तालिम दिनुका साथै उपकरणको खराबी सोधीखोजी राहत मिलेको छ ।’ आइतबार उपकरण मात्रै अनुगमन तथा मर्मत गरेको प्राविधिक टोली सोमबार प्रतिष्ठानका उपकरण मर्मत डिपार्टमेन्टका कर्मचारीसँग उपकरण मर्मतबारे छलफल गरेको प्रतिष्ठानले जनाएको छ ।
दुर्गमका अस्पतालमा बिग्रेर थन्किएका विभिन्न उपकरणलाई प्रयोगमा ल्याई नागरिकलाई सेवा प्रदान गर्न केन्द्रको प्राविधिक टोलीको सहयोगले नागरिकलाई राहत पुग्ने विश्वास लिइएको छ । आइतबार जुम्ला पुगेको उक्त टोली मंगलबार मुगु अस्पताल जाँदै छ ।