close

कोरोना जोखिममा विद्यालय सञ्चालनको हतारो 

कोरोना जोखिममा विद्यालय सञ्चालनको हतारो 

Trulli
ADVERTISEMENT

डा. शेरबहादुर पुन

जनस्वास्थ्यको दृष्टिले हामी देशैभर विद्यालय खोलिहाल्ने अवस्थामा पुगेका छैनौँ । जोखिम उत्तिकै छ । नयाँ संक्रमित थपिइरहेका छन् । यस्तो अवस्थामा धुमधडाक गरेर स्कुल खोल्ने हतारो गर्नु राम्रो होइन ।  

 

तर, अब खोल्ने निर्णय भइसकेको हो भने व्यवस्थापनको विषयमा ध्यान पुर्‍याउनुपर्छ । विद्यालयले विद्यार्थीलाई संक्रमण नफैलिने हिसाबले कसरी पठनपाठन गराउन सक्छन्, त्यो हेर्नुपर्छ । 

 

स्कुलले व्यवस्थापन गर्दा कुनै बालबालिका संक्रमित रहेछ भने उसबाट अन्य बालबालिकालाई नसार्ने गरी अध्यापनको व्यवस्था हुनैपर्छ । बालबालिका घरबाट बाहिर निस्केपछि उसको जोखिम सुरु हुन्छ । घरबाट बसमा चढेपछि त्यहाँ जोखिम छ । बसमा कसरी दूरी कायम गरेर राख्न सकिन्छ, यसमा ध्यान दिनुपर्‍यो  । बसमा हावा पास हुन्छ/हुँदैन, ख्याल गर्नुपर्छ । अभिभावकले बच्चालाई घरबाटै सही तरिकाले मास्क लगाएर पठाइदिनुपर्‍यो   । 

 

मास्क लगाउने र दूरीमा बस्ने हामीले कति भन्यौँ–भन्यौँ तर कार्यान्वयन भएन । वयस्कलाई धेरै भन्ने गरेका छौँ । अब बच्चाको केसमा उनीहरूलाई झन् खटपटी हुन सक्छ । मास्क राम्रोसँग नलगाउन सक्छन् । सुरक्षा मापदण्ड कसरी बच्चामा लागू गराउने भन्ने कुरा चुनौतीपूर्ण छ । यसलाई हामीले घरबाटै व्यवस्थित गर्नुपर्छ । त्यसपछि विद्यालयले ख्याल गर्नुपर्छ । अर्को विषय भनेको बालबालिका विद्यालय पुगेपछि त्यहाँको आन्तरिक व्यवस्थापन कस्तो छ भन्ने मुख्य कुरा हो । कोरोनाको जुन जोखिम छ, त्यसलाई आधार मानेर हामीले व्यवस्थापन गर्न सक्नुपर्छ । उनीहरूलाई खुला कोठामा दूरी कायम राखेर शिक्षण गर्न सक्नुपर्छ ।

 

मैले देखेको अर्को विषय हाम्रो परम्परागत पढाउने शैली एकातिर विद्यार्थी हुन्छ । अर्कोतर्फ शिक्षक सीधा हुन्छ । शिक्षक संक्रमित भए चिच्याउँदा विद्यार्थीमा संक्रमण सर्न सक्छ । त्यस्ता स–साना कुराले असर गर्न सक्छ । अर्को महत्त्वपूर्ण विषय विद्यालयमा गराइने अतिरिक्त क्रियाकलापले पनि कोरोना फैलन सक्ने सम्भावना हुन्छ । त्यसलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने हुन्छ । अतिरिक्त क्रियापकलाप गराउँदा हुने भीडभाडमा सतर्कता अपनाउनैपर्छ । कक्षाकोठामा बसेका बेला मास्क राम्रोसँग लगाए/नलगाएको राम्रोसँग ख्याल गर्नुपर्छ । 

 

विद्यालयका कर्मचारीबाट पनि कोरोना सर्न सक्ने सम्भावना रहन्छ । बाहिरका देशको उदाहरण हेर्दा विद्यालयका कर्मचारीमार्फत विद्यार्थीलाई सरेको उदाहरण छ । त्यस कारण बालबालिकालाई विद्यालय कर्मचारीबाट पनि जोखिम हुन सक्छ । यस्तो अवस्थामा कर्मचारीलाई कसरी मूल्यांकन गर्ने भन्ने प्रश्न रहन्छ । अभिभावक पनि इमानदार हुनुपर्छ । आफ्ना बच्चालाई रुघा, खोकी लागे विद्यालय पठाउनुहुँदैन ।

 

विद्यार्थीमा संक्रमण देखिए के गर्ने भन्ने योजना तयारी गर्नुपर्छ । बच्चालाई जोखिम विद्यालय पठाउँदा मात्रै हुने भन्ने त होइन । उनीहरू घरबाहिर, सबैतिर जोखिममै छन् । तर, विद्यालयमा बच्चा एकै ठाउँ भेला भएर खेल्ने, रमाइलो गर्ने भएकाले संक्रमित हुन सक्छन् । विद्यालयबाट मात्रै सर्छ भन्न मिल्दैन किनकि घरबाटै अभिभावकको माध्यमले बच्चामा सर्न पनि सक्छ ।

 

अहिलेसम्मको स्थितिमा बालबालिकाको मृत्युदर धेरै देखिएको छैन । तर, पहिलो लहरको तुलनामा दोस्रो लहरमा धेरै संक्रमित भएका थिए । तेस्रो लहरमा धेरै संक्रमित हुने हुन् कि भन्ने खतरा कायमै छ । वयस्क उमेरका वृद्धवृद्धा धेरैले खोप लगाइसक्नुभएको छ । तर, बालबालिकाले लगाउन मिल्ने÷नमिल्ने कुरामा अनुसन्धान भइरहेको छ । उनीहरूले खोप पाएनन् भने पक्कै पनि प्रभावित हुने सम्भावना छ ।


 
समग्रमा घरमै बस्दा संक्रमित भइरहेका छन् । अझ विद्यालय खुलाउने विषय जनस्वास्थ्यको दृष्टिले उपयुक्त हो भन्ने लाग्दैन । तर, अब खुलाउने निर्णय भइसकेपछि भने सबैले स्वास्थ्य मापदण्ड अपनाएर व्यवस्थित गरेर विद्यालय खोल्नुपर्छ । अवस्था अहिले पनि जोखिमपूर्ण भएकाले व्यवस्थापन राम्रोसँग नगरी विद्यालय खोलिए स्वास्थ्यका दृष्टिले समस्या हुन सक्छ । व्यवस्थापन कडा नभए संक्रमण फैलिने डर धेरै छ । किनकि, हामीले व्यवस्थापन राम्रो गरेनौँ भने विद्यार्थी र अभिभावकले हेलचेक्र्याइँ गरिदिए संक्रमितको संख्या बढ्ने सम्भावना छ । 

 

संस्थागतको तुलनामा सामुदायिक विद्यालयमा विद्यार्थीको चाप धेरै हुने भएकाले जोखिम ज्यादा हुने अनुमान गरिन्छ । विद्यार्थीले ध्यान दिँदैनन् भने सोचले हामीले त्यस्तो सोचिरहेका हौँ । तर, सबैले ध्यान पु¥याउनुपर्छ । विद्यार्थीलाई पनि रोगबारे जानकारी दिएर वा अन्य तरिकाले सचेत गराउनुपर्ने हुन्छ । विद्यालय शिक्षा दिने ठाउँ भएकाले बालबालिकालाई सामेल गराएर स्वास्थ्यसम्बन्धी शिक्षा दिनुपर्छ । कथा, कवितालगायत माध्यमबाट तिनलाई सचेत गराउन सकिन्छ । हामीले अहिले सचेतनाको अभ्यास गरेर विद्यालय खुलायौँ भने कोरोनाबाट बच्छौँ नै, भविष्यमा आउने अन्य रोगका लागि पनि तयार हुन्छौँ ।