अछाम– जिल्ला अस्पताल अछाममा केही दिनयता भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि भर्ना गर्न शय्या अभाव भएको छ । मौसम प्रतिकूलताका कारण अस्पतालमा बिरामीको संख्या बढेको जिल्ला अस्पतालका डा. अतुल भारद्वाजले जानकारी दिए ।
अहिले दैनिक ४०/५० जना बिरामी उपचार सेवा लिन अस्पताल आइरहे पनि शय्या अभावमा गुणस्तरीय सेवा दिन नसकिएको उनले बताए ।
‘१५ शय्या कायम भएको जिल्ला अस्पतालमा ३० बढी बिरामी भर्ना भएपछि थप भर्ना गर्न समस्या छ । शय्या अभावमा काउन्टरमा समेत राखेर उपचार गर्नुपर्ने बाध्यता छ । बिरामी संख्या बढेपछि भुइँमै उपचार गराइरहेका छौँ’, डा. भारद्वाजले भने । अस्पतालमा पछिल्लो समय छातीको समस्या भएका बिरामी बढी भर्ना भएपछि नयाँले शय्या पाउनै मुस्किल भएको उनको भनाइ छ ।
निमोनिया, झाडापखाला, ज्वरोलगायतका अन्य बिरामी अस्पतालमा आउने गरेका छन् । अस्पतालमा ५ वर्षमुनिका बालबालिका बढी आउने गरेकाले तिनलाई छुट्टै राख्नुपर्ने भए पनि शय्या अभावमा सबै बिरामीलाई एकै ठाउँ राख्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।
एउटै स्थानमा राखेर उपचार गर्नुपर्दा अन्य रोग सर्ने सम्भावाना उत्तिकै रहेको डा. सोनाली बास्कोटाले बताइन् । बिरामी तथा तिनका कुरुवालाई समेत झन् बढी समस्या भएको छ ।
मंगलसेन नगरपालिका वडा नम्बर १ का छत्रबहादुर थापाले अस्पतालमा उपचारका लागि शय्या नपाएको गुनासो गरे । ‘अस्पतालमा बिरामीलाई एकै ठाउँ राखेर उपचार गर्न थालिएपछि कुरुवालाई पनि संक्रमणको जोखिम छ’, उनले भने ।
अस्पतालमा बिरामीको संख्या दिनप्रतिदिन बढिरहे भए पनि अस्पतालमा शय्याको कमी हुँदा बिरामीले उपचारसमेत नपाउने अवस्था सिर्जना भएको छ ।अस्पताललाई ५० शय्यामा स्तरवृद्धि गर्ने भनिए पनि अहिलेसम्म काम सुरु हुन सकेको छैन । अस्पतालको भौतिक संरचना गुणस्तरीय नहुँदा थप समस्या छ ।
सदरमुकाममा रहेको जिल्ला अस्पतालमा बिरामीको संख्यामा वृद्धि भएपछि भुइँमै राखेर उपचार सेवा दिनुपर्ने बाध्यता रहेको डा. बास्कोटाले बताइन् । कोरोना संक्रमणको जोखिम कायमै रहेका बेला सबै प्रकृतिका बिरामीलाई एकै ठाउँ राखेर उपचार दिँदा अन्य रोग फैलिने सम्भावना रहेको अस्पताल प्रशासनले बताएको छ ।
डा. बास्कोटाका अनुसार मापदण्डबिनाको पुरानो भौतिक संरचनामा गुणस्तरीय उपचार सेवा दिन कठिनाइ हुने गरेको छ । अस्पतालमा आउने भाइरल रोगका बिरामीलाई यो समय आफ्नो स्वास्थ्यप्रति ख्याल गर्न सचेत गराउँदै उपचारपछि फर्काउने गरिएको छ । बर्खाको समय पानीजन्य रोग बढी देखिने भएकाले यस्ता रोगबाट सुरक्षित रहन सरसफाइमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।