जुम्ला– कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा कोरोना संक्रमण नियन्त्रणबाहिरै रहेको देखिएको छ । मानवीय त्रुटि र स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउँदा संक्रमण कम हुन नसकेको स्वास्थ्यकर्मी बताउँछन् ।
शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ५८ जनाको आरटी पिसिआर परीक्षणमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, संक्रमणमुक्त हुनेको संख्या २५ जना रहेको छ ।
जुम्लामा कोभिड–१९ संक्रमण पुष्टि हुनेको संख्या १ हजार १७६ पुगेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंका अनुसार ८ साउनसम्म संक्रमण मुक्त हुनेको संख्या ९५१ छ ।
अहिले पनि जुम्लामा २२५ जना सक्रिय संक्रमित रहेको उनले बताए । संक्रमणका कारण जिल्लाका ५ ज्येष्ठ नागरिकसहित ८ जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । जिल्लाबाहिर ४ जनाको मृत्यु भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसन कक्षमा २७ जना उपचाररत छन् । कोभिड–१९ संक्रमण कम भएको भन्दै सरकारले देशभर निषेधाज्ञा खुकुलो गर्दै लगेको छ । देशभरसहित जुम्लामा पनि निषेधाज्ञा खुकुलो पार्दै लगिएको छ ।
वैशाख पहिलो सातादेखि जुम्लामा कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा असार तेस्रो सातादेखि केही खुकुलो पारिएको
हो ।
लोकसेवा आयोगलगायत अन्य निकायले परीक्षाको कार्यक्रम सार्वजनिक गरेपछि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालन गरिने भएको छ । त्यसैगरी दैनिक उपभोग्य वस्तु तथा खाद्य पसलसहित अन्य व्यापार, व्यवसायका पसल दैनिक दिउँसो ४ बजेसम्म खुल्दै आएका छन् ।
ज्येष्ठ नागरिकले दोस्रो डोजको खोप पाएनन्
जुम्लामा कोभिसिल्डको पहिलो डोज लगाएका ८ हजार ९५८ जना ज्येष्ठ नागरिक दोस्रो डोज लगाउन वञ्चित भएका छन् । पहिलो खोप लगाउने भारतले दोस्रो डोज उपलब्ध नगराएपछि वञ्चित भएका हुन् ।
कोभिसिल्डको दोस्रो डोजको खोप स्वास्थ्यकर्मी, चालक, कर्मचारीसहित २ हजार ९४८ जनाले मात्रै लगाएको जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईले बताए । यस्तै, १ हजार ९९१ जनाले भेरोसिल लगाएका छन् भने दोस्रो भेरोसिल खोप १ हजार ६१६ जनाले लगाएका छन् ।
अहिले पनि खोप कार्यक्रम चलिरहेकाले पहिलो डोज भेरोसिल लगाउने सबै नागरिकले दोस्रो डोजको खोप पाउने निश्चित भएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।