काठमाडौं– विभिन्न प्रकारका जटिल रोगको औषधी उत्पादन गरिरहेका नेपालका औषधी उत्पादक कम्पनीले एकपछि अर्को सफलता हात पार्दै गएका छन् ।
यसको पछिल्लो सफलतास्वरूप नेपालमै पहिलो पटक क्यान्सर रोगको औषधी उत्पादन सुरु भएको छ । टिजिग फर्मा प्रालिले क्यान्सर रोगको औषधी उत्पादन सुरु गरेको हो । राजधानीमा आयोजित कार्यक्रममा टिजिग आफूले उत्पादन गरेका ‘एन्टी क्यान्सर’सम्बन्धी औषधीसमेत अनावरण गरेको छ ।
उक्त अवसरमा क्यान्सर रोग विशेषज्ञबीच औषधीको विषयमा सामान्य छलफलसमेत चलाइयो । टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले क्यान्सर रोगविरुद्धको औषधी उत्पादन गर्ने टिजिग नेपालकै पहिलो कम्पनी भएको बताए ।
औषधी व्यवस्था विभागसँग स्वीकृति लिएर औषधी उत्पादन प्रक्रिया सुरु भइसकेकाले १ महिनाभित्र केही औषधी व्यावसायिक रूपमा बजारमा पुग्ने जानकारी
दिए ।
कम्पनीका अनुसार टिजिग फर्मामा अहिलेसम्म ३२ करोड रुपैयाँ लगानी भइसकेको छ भने काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १ नालामा १६ रोपनी क्षेत्रफलमा उद्योग स्थापना गरिएको छ ।
त्यसमध्ये अहिले २० हजार स्क्वायर फिटको पूर्वाधार तयार भइसकेको कार्यकारी निर्देशक वैद्यले बताए ।
वैद्यका अनुसार अत्याधुनिक प्रविधिमा बनाइएको टिजिग फर्माको उद्योग डब्लुएचओको जीएमपी स्ट्यान्र्डर्ड र औषधी उत्पादन संहिता, २०७३ अनुरूप बनाइएको र नेपालकै नमुना उद्योग रहेको छ ।
‘क्यान्सर रोगको औषधीले हुने टक्सीसिटीका कारण यो औषधी उत्पादन गर्ने ठाउँमा अन्य औषधी उत्पादन गर्न मिल्दैन । हाम्रो फ्याक्ट्रीमा नवीनतम र अत्याधुनिक प्रविधि जडान भएका छन्,’ वैद्यले भने ।
टिजिगले अहिले औषधी व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि स्वीकृति पाइसकेको छ । त्यसमध्ये ५ वटा फर्माकोपेल, अरु नन् फर्माकोपेल छन् । यीमध्ये केही औषधी उत्पादन अनुज्ञापत्र औषधी निर्यातका लागि भएको कार्यकारी निर्देशक वैद्यले बताए ।
तत्कालै पाँच वटा औषधी उत्पादन गरिहाल्ने र त्यसपछि अरू ल्याउने योजना रहेको उनको भनाइ छ । कम्पनीले उत्पादन गर्ने एन्टीक्यान्सर औषधीको मूल्य मूल्य विदेशबाट आउने औषधीको तुलनामा सस्तो हुने कम्पनीले जानकारी दिएको छ ।