close

कोरोना नियन्त्रणमा स्थानीय सरकारलाई प्रदेश सरकारको साथ 

कोरोना नियन्त्रणमा स्थानीय सरकारलाई प्रदेश सरकारको साथ 

Trulli
ADVERTISEMENT

खोटाङ– प्रदेश १ सरकारले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका क्रममा प्रयोग हुने स्वास्थ्य सामग्री उपलव्ध गराएको छ । 

 

सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बिराटनगरबाट नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर, डिजिटल थर्मोमिटर, एन्टीजेन किट, गाउन सेट, मास्क, सेनीटाइजर लगायतका स्वास्थ्य सामग्री प्राप्त भएको हो । 

 

सामाजिक विकास मन्त्री उषाकला राईको पहलमा नगरपालिकालाई १० लिटरको ५ पिस अक्सिजन कन्सन्ट्रेटर, ५ लिटरको ५ पिस अक्सिजन कन्सन्ट्रेटर, ४० लिटरको २० पिस अक्सिजन सिलिण्डर, १ सय पिस डिजिटल थर्मोमिटर, २० पिस पल्स अक्सिमिटर, ४८० पिस गाउन सेट, १० हजार पिस कोभिड–१९ मास्क, ३ हजार २४० पिस एन ९५ मास्क, १ हजार सेट एन्टीजेन किट, २५ लिटर ह्याण्डसेनीटाइजर, १० एमएलको ७२० पाउच बायोक्लोर डिसइन्फेक्टेन्ट, ५ पिस निवुलाइजर मेसिन, १ हजार ५ सय पिस फेससिल्ड र १२ जोडी गम बुट उपलव्ध भएको हो । 

 

प्रदेश सरकारबाट प्राप्त भएको स्वास्थ्य सामग्री शनिबार नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगालले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजाललाई हस्तान्तरण गरेका छन् । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उपप्रमुख बिणादेबी राई, एमाले नेता कुमार आचार्य लगायतको उपस्थिति थियो । 

 

कोभिड–१९ को महामारीबाट बच्ने र बचाउने अभियानकाक्रममा स्वास्थ्य कार्यालयको माग एवं जिल्लाका जनप्रतिनिधि तथा दलका नेताको पहलमा अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पिपिई गाउन, मास्क, सेनीटाइजर लगायतका स्वास्थ्य सामग्री भित्रिने क्रम जारी छ । 

 

प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईको पहलमा गत २९ जेठमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट स्वास्थ्य कार्यालयमा ५ थान पल्स अक्सिमिटर, २ सय थान एन्टीजेन किट, ५ सय पिस कोभिड–१९ गाउन सेट, ५० पिस डेडवडी व्याग, ५० पिस फेसशिल्ड, सय पिस एन ९५ मास्क र एक हजार पिस कोभिड–१९ मास्क भित्रिएको थियो । 

 

यस्तै, जेठ २६ गते खोटाङ सेवा समाज यूकेले स्वास्थ्य कार्यालयलाई अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, बिआइपिएपी, मास्क लगायतका ११ लाख ४६ हजार २ सय रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलव्ध गराएको थियो । 

 

यस्तै, १८ जेठमा प्रदेश१ का सामाजिक बिकास मन्त्री राईको पहलमा प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बिराटनगरबाट ५० लिटरको १५ पिस अक्सिजन सिलिण्डर, ४ थान अक्सिजन कन्सन्ट्रेटर, ४ थान अक्सिमिटर, १० हजार सेट एन्टीजेन किट, २० पिस इन्फ्रारेड थर्मोमिटर, ३२० सेट गाउन लगायतका स्वास्थ्य सामग्री जिल्ला ल्याइएको थियो । मन्त्री राईले बिराटनगरबाट गत ३० वैसाखमा पनि स्वास्थ्य सामग्री पठाएकी थिइन् । 

 

११ जेठमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभागबाट प्रतिनिधिसभा सदस्य भट्टराईमार्फत ४ सय थान पिपिइ गाउन, ४ सय थान एन ९५ मास्क, २० लिटर सेनिटाइजर, ४ हजार थान सर्जिकल मास्क, १ हजार सेट एन्टीजेट किट, ४० लिटरको १५ पिस अक्सिजन सिलिण्डर र २ सय पिस भिटिएम ल्याइएको थियो । प्रतिनिधिसभा सदस्य भट्टराई काठमाडाैंबाट गत ३० वैशाखमा पनि स्वास्थ्य सामग्री लिएर आएका थिए ।