close

कोरोनामा स्थानीय तहः खोटेहाङमा खुकुलो, ऐँसेलुखर्क र साकेला बन्द

कोरोनामा स्थानीय तहः खोटेहाङमा खुकुलो, ऐँसेलुखर्क र साकेला बन्द

Trulli
ADVERTISEMENT

खोटाङ– कर्मचारीलाई कोभिड संक्रमण पुष्टि भएपछि खोटाङको एँेसेलुखर्क गाउँपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवा बन्द गरिएको छ । 


बुधबार गरिएको एन्टिजेन परीक्षणका क्रममा २ कर्मचारीलाई कोभिड–१९ पोजेटिभ पुष्टि भएपछि ३ देखि ७ जेठसम्म गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गरिएको हो । 


कोभिड–१९ महामारी सुरु भएपछि गाउँपालिकाले अत्यावश्यक सार्वजनिक सेवा प्रवाह गर्दै आएकामा कर्मचारी संक्रमित भएपछि सम्पूर्ण सेवा बन्द गरिएको पालिका अध्यक्ष विश्वनाथ निरौलाले जारी गरेको सूचनामा उल्लेख छ । 


ऐँसेलुखर्कले अत्यावश्यकबाहेकका सेवा पटक–पटक बन्द गर्दै आएको छ । अर्को व्यवस्था नभएसम्म पालिकाभित्रका सरकारी, गैरसरकारी कार्यालय, विद्यालय, व्यापार÷व्यवसाय, होटल, बैंक तथा वित्तीय संस्थालगायत जमघट र भेला हुने सम्पूर्ण कार्य स्थगित गरिएको पालिकाले जनाएको छ । यस्तै, ऐँसेलुखर्कबाट चल्ने सम्पूर्ण यातायातका सवारी साधन आउजाउमा रोक लगाइएको छ । 

 

खोटेहाङमा सेवा प्रवाह केही खुकुलो 

खोटेहाङ गाउँपालिकाले आगामी ११ असारसम्म औषधीबाहेकका पसल, संघ–संस्था, शैक्षिक संस्था, होटल व्यवसाय, रेस्टुराँ एवं गेस्टहाउस बन्द गरेको छ । 


३१ जेठमा बसेको स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयअनुसार गाउँपालिकाले यसअघि नै लागू हुँदै आएको निर्णयलाई ११ असारसम्म लम्ब्याएको हो । 

 

गाउँपालिकाले सो अवधिमा हाटबजार÷मेला, सामाजिक तथा सांस्कृतिक पर्व, भोजभतेर, पूजाआजा, विवाह, व्रतबन्ध, पास्नीलगायत भीडभाड हुने सबै प्रकारका क्रियाकलाप बन्द गर्ने, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी चालक र सह–चालक मात्र सवार हुने गरी निर्माण सामग्री, खाद्यान्न तथा पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारी साधन सञ्चालन गर्ने निर्णयलाई निरन्तरता दिइएको छ । 

 

यस्तै, अत्यावश्यक अवस्थामा बाहेक सबै प्रकारका सवारी साधन सञ्चालन बन्द गर्ने, बाह्य हिँडडुल तथा आउजाउ बन्द गर्ने, वित्तीय संघ–संस्था तथा सहकारीबाट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी आर्थिक क्रियाकलाप गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।

 

खोटेहाङले पहिलाको तुलनामा हाल सेवा प्रवाह केही खुकुलो पारेको छ । यसअघि ३१ जेठसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरेको गाउँपालिकाले त्यसयता स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सबै प्रकारका सेवा सुरु गराएको जनाएको छ । 

 

साकेला तेस्रोपल्ट सिल 

साकेला गाउँपालिकालाई थप साता दिन सिल गरिएको छ । कोभिड–१९ को महामारी हालसम्म कायम रहेको भन्दै गाउँपालिकाको सिल अवधि ७ दिनका लागि थपेको हो ।

 

दोस्रोपल्ट थप गरिएको सिल अवधि ३१ जेठमा सकिएपछि बिहीबारदेखि लागू हुने गरी तेस्रोपल्ट गाउँपालिका सिल अवधि लम्ब्याइएको हो ।

 

कोभिड–१९ को महामारीबाट बच्ने र बचाउने अभियानका क्रममा गाउँपालिकाले आउजाउ गर्न नपाउने गरी पालिका सिल कायम राखिएको अध्यक्ष अर्जुन खड्काले जारी गरेको सूचनामा उल्लेख छ । 

 

यसअघि गाउँपालिकाको आन्तरिक प्रशासनिक कामकाज र अत्यावश्यकबाहेकका अन्य सेवा प्रवाह बन्द गरिएको थियो । कोभिड संकट व्यवस्थापन समितिको गत २५ वैशाखको बैठकले साता दिनका लागि पहिलोपल्ट गाउँपालिका सिल गर्ने निर्णय गरेको थियो ।

 

त्यतिबेला बेला गाउँपालिकाले संक्रमित क्षेत्रबाट आउने पालिकाबासीले सम्बन्धित वडा कार्यालयमा पिसिआर रिपोर्ट पेस गर्नुपर्ने र कम्तीमा १० दिनसम्म होम आइसोलेसनमा बस्नुपर्ने, गाउँपालिकाभित्र निर्माणाधीन योजना र आयोजनाका लागि आवश्यक कामदार पालिकाभन्दा बाहिरबाट नल्याउने, बाहिरबाट ल्याउन परे पिसिआर परीक्षण गरेर मात्र भित्र्याउन पाउने व्यवस्था गरेको थियो ।