जुम्ला- जुम्लामा पनि कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरिएको छ । काठमाडौं उपत्यकामा ६० देखि ६४ र उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन सुरु गरिएको हो ।
जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार जुम्लामा ६२ देखि ६४ वर्ष उमेरका नागरिकलाई खोप दिन लागिएको हो । जुम्लाको १ नगरपालिका र ८ गाउँपालिका गरी ८ स्थानीय तहका १ हजार ८ सय २ जनालाई खोप लगाउने लक्ष्य रहेको उनले बताए ।
‘जुम्लाको चन्दननाथ नगरपालिकामा मंगलबारदेखि खोप लगाउन सुरु गरिएको हो’, सापकोटाले भने, ‘नगरपालिकाभित्रका सबै स्वास्थ्य चौकीमा खोप केन्द्र निर्धारण गरिएको छ । सबै स्थानीय तहका स्वास्थ्य चौकी तथा नागरिकलाई पायक पर्ने ठाउँमा खोप केन्द्र निर्धारण गरी खोप लगाइँदै छ ।’
चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार नगरभित्रका ६२ देखि ६४ बर्ष उमेर समूहका १७० जना नागरिकलाई चिनियाँ भेरोसेल खोप लगाउन थालिएको छ । स्वास्थ्य चौकीमार्फत नागरिकलाई पायक पर्ने स्थानमा केन्द्र निर्धारण गरी खोप लगाउन थालिएको उनले बताए ।
खोप लगाउन उमेर खुल्ने प्रमाणपत्र लिएर केन्द्रमा जानसमेत आग्रह गरिएको छ ।
देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिक ८ लाख ५४ हजार रहेकाले खोपको दोस्रो मात्रा नपुग्ने देखिएको छ । हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइनेछ ।
हिमाली क्षेत्रमा पटक-पटक खोप पुर्याउन गाह्रो हुने भएकाले १८ वर्षमाथिकालाई नै खोप लगाइने स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
भारतले उपलव्ध गराएको खोप पहिलो डोज खोप लगाएका नागरिक चिन्तित बनेका छन् । कोरोना संक्रमण उत्कर्षमा पुगेका बेला दोस्रो डोज खोप लगाउन नपाउँदा नागरिक चिन्तित भएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए ।