काठमाडौं- अक्सिजनका धेरै खाली सिलिन्डर व्यक्तिका घर, टोल र आइसोलेसन सेन्टरमा थुप्रिएपछि स्वास्थ्य मन्त्रालयले यस्ता सिलिन्डर उद्योगमा लगिदिन आग्रह गरेको छ ।
विभिन्न कारणले व्यक्तिका घर, टोल, विभिन्न आइसोलेसन सेन्टर र अस्पतालमा पुगेका सिलिन्डर अक्सिजन भर्न उद्योगहरूमा समयमा नपुग्दा आपूर्तिमै समस्या हुने बताउँदै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
‘खाली सिलिन्डर समयमै भर्न सम्बन्धित उद्योगमा नपुग्दा समग्र आपूर्ति प्रणालीमा असर गर्छ र अस्पतालमा जटिल उपचारमा रहेकाहरूलाई अप्ठेरो पर्न जान्छ,’ मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिका भनिएको छ, ‘जुनसुकै व्यक्ति, संस्था, निकायले जुनसुकै वहानामा लगेका अक्सिजन सिलिन्डर यथासक्य चाँडो जुन उद्योगको सिलिन्डर हो, सोही उद्योगमा भर्न उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’
सरकारले कोरोना संक्रमित बिरामीका लागि अक्सिजन अत्यावश्यक हुने भन्दै खाली भएका सिलिन्डर उद्योगमा ल्याइदिन आग्रह गरेको हो ।
मन्त्रालयले अस्पतालमा जडान भएका अक्सिजन प्लान्ट वा ट्यांकर जतिसक्दो चाँडो मर्मत गरी पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ ।
त्यस्तै, अस्पतालमा अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न पनि आग्रह गरिएको छ ।