काठमाडौं- संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकाले मंगलबारदेखि ६० देखि ६४ वर्ष उमेर समूहका करिब १ लाख नागरिकलाई कोरोनाविरुद्धको चिनियाँ भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ ।
‘महानगरको व्यवस्थापनमा ३२ वटै वडामा मंगलबारबाट खोप अभियान सञ्चालन भएको छ,’ महानगर प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘हामीले सरकारसँग समन्वय गरेर महानगरको व्यवस्थापनमा १ लाखलाई खोप दिने लक्ष्य राखेका छौँ ।’
यसअघि पहिलो मात्राको खोप लगाउन छुटेका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई यस पटक यो खोप दिन लागिएको हो ।
‘विगतमा अस्पतालमा केन्द्र बनाएर खोप अभियान सञ्चालन गर्दा हुने भीडभाडले संक्रमण फैलिने गुनासो आएपछि त्यसलाई सम्बोधन गर्ने गरी भेरोसेल खोप लगाउँदा महानगर आफैंले व्यवस्थापन गर्दै आएको छ,’ उनले भने, ‘अघिल्लो चरणको खोप पनि महानगरपालिककै व्यवस्थापनमा सञ्चालन गरेका थियौँ । यस पटक हामीले ३२ वटै वडामा ३२ वटा केन्द्र बनाएर अभियान सञ्चालन गरेका छौँ ।’
६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने अभियान महानगरपालिकाकै व्यवस्थापनमा सञ्चालन भइरहेकाले उक्त उमेर समूहका महानगरबासीलाई सेवा लिन शाक्यले आग्रह गरे ।
‘हामीले ३२ वटै वडालाई निर्देशन जारी गरेर ६० देखि ६४ वर्ष उमेर समूहका नगरिकलाई एकै दिन खोप लगाउँदा भीड हुने भएकाले उमेर समूहअनुसार फरक–फरक दिन गरी ५ दिनसम्म लगाउने व्यवस्था गरेका छौँ,’ उनले भने, ‘यो अभियान काठमाडौं महानगरका नागरिकलाई मात्रै होइन, ७७ जिल्लाबाटै राजधानीमा बसोबास गर्ने सो उमेर समूहका नागरिकलाई हो । आफूलाई पायक पर्ने स्थानमा नागरिकतासहित खोप लगाउन जानुहोला ।’
महानगरको सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले मंगलबार ६४ वर्षका लागि, २६ जेठमा ६३ वर्षका लागि, २७ जेठमा ६२ वर्षका लागि, २८ जेठमा ६१ वर्षका लागि र २९ जेठमा ६० वर्ष उमेरकालाई खोप लगाइने जानकारी दिए ।
‘खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानुपर्नेछ,’ उनले भने, ‘यस प्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्नेछ ।’
महानगरले नन्दी रात्रि मावि नक्साल, वडा कार्यालय लाजिम्पाट, वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र, वडा कार्यालय बालुवाटार, वडा कार्यालय हाँडीगाउँ, महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय बौद्ध, वडा कार्यालय मित्रपार्क चावहिल, गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरीमा उक्त उमेर समूहका नागरिकलाई खोप लगाइनेछ ।
यस्तै, अनुपम फुडल्यान्ड बत्तीसपुतली, म्याक डोनाल्ड पार्टी प्यालेस मध्यबानेश्वर, विश्व निकेतन उच्च माध्यमिक विद्यालय त्रिपुरेश्वर, बुद्ध माई अस्पताल टेकु, जनप्रभात माध्यमिक विद्यालय कालीमाटी, वडा कार्यालय भुवनेश्वरी कलंकी, भुइँखेल चौर स्वयम्भू, बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र जुडो हल नयाँबजारमा खोप केन्द्र निर्धारण गरिएको महानगरले जनाएको छ ।
महानगरका अनुसार, पब्लिक युथ क्याम्पस धोबीचौर, पुष्पलाल पार्क, विष्णुमति किनार वडा १९ कार्यालय परिसर, शान्ति निकुञ्ज माध्यमिक विद्यालय भगवती बारी, सामुदायिक सहरी स्वास्थ्य क्लिनिक यंगाल, वडा कार्यालय टेबहाल, नवआदर्श विद्यालय वसन्तपुर, इतुमबहाल, तारणीबहालबाट खोप लगाइनेछ ।
यस्तै, कन्या मन्दिर माध्यमिक विद्यालय छत्रपाटी, वडा कार्यालय परिसर लैनचौर, महाबौद्ध चोक, कार्यालय परिसर, सिटी मार्केट, विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार, सामुदायिक सहरी स्वास्थ्य क्लिनिक ज्ञानेश्वर चोक, इपिएस स्कुल मीनभवन, वडा कार्यालय परिसर पाल्पाकोटमा खोप केन्द्र तय गरिएको छ ।