खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १२ जालपा वडा कार्यालयले आफ्नै पहलमा एन्टिजेन किट जुटाएर कोभिड–१९ परीक्षण सुरु गरेको छ ।
समुदाय स्तरमा फैलिइसकेको कोभिड–१९ संक्रमण भए–नभएको पहिचान गर्दै संक्रमण थप फैलिन नदिन वडा कार्यालयले आफ्नै पहलमा किट जुटाएर एन्टिजेन परीक्षण सुरु गरेको हो ।
विभिन्न संघ–संस्था, स्वदेश तथा विदेशमा रहेका वडाबासीको सहयोगमा १ हजार ३ सय थान किट जुटाएर वडाको टोल–टोलमा एन्टिजेन परीक्षण भइरहेको वडाध्यक्ष विकास राईले बताए ।
वडा कार्यालयको पहलमा जनसेवा समाज नेपाल, फ्रेन्डस् अफ नेचर, स्टोरिज अफ नेपाल, विभिन्न व्यक्तिलगायतबाट किट जुटाइएको हो ।
नगरपालिका, स्वास्थ्य कार्यालयलगायतबाट वडागत रूपमा किट प्राप्त हुने अवस्था नभएपछि वडा कार्यालय आफैंले किट जुटाउन अग्रसरता देखाएको हो । वडाले जुटाएको एन्टिजेन किटबाट गरिएको परीक्षणका क्रममा हालसम्म जालपाका ५८ जनालाई कोभिड–१९ संक्रमण पूष्टि भइसकेको छ ।
स्वास्थ्यमा गम्भीर समस्या नभएकाले संक्रमितलाई होम आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको छ । नियमित आउजाउ हुने छिमेकी वडाबाट समेत संक्रमण भित्रिने त्रास भएकाले वडा नम्बर ११ खार्मीको साब्रु र रावाबेँसी गाउँपालिका वडा नम्बर ६ हौंचुरको राइसिंगेमा पनि एन्टिजेन परीक्षण तयारी गरिएको वडाध्यक्ष राईले जानकारी दिए ।
एन्टिजेन परिक्षणमा जालपा सामुदायिक अस्पताल र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीलाई परिचालन गरिएको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडा कार्यालय जालपाले जालपा सामुदायिक अस्पतालमा ५ बेडको अक्सिजनसहितको आइसोलेसन बनाएको छ ।
वडाभित्र संक्रमणबाट बिरामी गम्भीर भएको अवस्थामा संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि जालपा सामुदायिक अस्पतालमा अक्सिजनसहितको आइसोलेसन निर्माण गरिएको वडाध्यक्ष राईले बताए । आइसोलेसनमा ४० लिटरको अक्सिजन सिलिन्डर व्यवस्था गरिएको छ ।
स्वास्थ्य सामग्री जुटाउन वडा कार्यालयले पहल थालेपछि राष्ट्रिय आविष्कार केन्द्रले ४ थान अक्सिजन कन्सन्ट्रेटर, ३ थान अक्सिजन सिलिन्डर, पिपिईलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
यस्तै, केपिलासगढी गाउँपालिका वडा नम्बर २ खार्ताम्छा घर भई हाल बेलायती सेनामा कार्यरत विकास साम्पाङ राईले सामुदायिक अस्पताललाई ४७ लिटरका २ थान अक्सिजन सिलिन्डर उपलव्ध गराएका थिए । हाल जालपा सामुदायिक अस्पतालमा ८ थान अक्सिजन सिलिन्डर जुटिसकेको वडाध्यक्ष राईले बताए ।