close

प्रवासी ओखलढुंगेले पठाए अस्पतालमा आइसियु बेड

प्रवासी ओखलढुंगेले पठाए अस्पतालमा आइसियु बेड

Trulli
ADVERTISEMENT

ओखलढुंगा– सत्तारुढ एमालेभित्र आइसियु बेड र भेन्टिलेर किन्ने बजेट कुन अस्पतालमा पठाउन भनेर विवाद चर्किरहेका बेला कोरोना महामारीविरुद्ध लड्न प्रवासी नेपालीले भने आइसियु बेड जिल्ला पठाएका छन् । बेलायतलगायत युरोपियन देशमा रहेका नेपालीले कोभिड–१९ विरुद्ध ओखलढुंगेली विश्वव्यापी सञ्जालमार्फत मनिटरसहितका ४ थान आइसियु बेड पठाएका हुन् । 

 

बेलायतमा रहेका नेपाल प्रहरीका पूर्वडिएसपी शिवजी श्रेष्ठको संयोजकत्वमा गठन भएको सो समितिले रकम जुटाएर ४ थान आइसियु बेड पठाएको हो । प्राविधिकसमेत खटाएर २ अस्पतालमा २–२ थान आइसियु बेड जडान गरिएको संयोजक श्रेष्ठले बताए । बेलायतलगायत देशमा रहेका ओखलढुंगेलीको सञ्जालको पहलमा ४ थान आइसियु बेड जडान भई सञ्चालन अवस्थामा राखिएका छन् ।

 

यसरी विदेशमा रहेका नेपालीले आफ्नो जिल्लामा गरेको सहयोग महत्त्वपूर्ण रहेको सञ्जाललाई जिल्लामा सहजीकरण गर्दै आएका ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द मास्केले जानकारी दिए । सिद्धिचरण नगरपालिका र उद्योग वाणिज्य संघको समन्वयमा अस्पतालमा बेड जडान गरिएका हुन् । 

 

जिल्लामा १ सरकारी र १ सामुदायिक अस्पताल छन् । सामुदायिक अस्पतालमा २० बेडको छुट्टै कोभिड–१९ केयर युनिट स्थापना भई सञ्चालनमा छ । रुम्जाटारमा रहेको सरकारी अस्पतालमा भने ७ बेडको कोभिड युनिट छ । दुवै अस्पतालमा आइसियु नहुँदा सघन उपचार जिल्लामा सम्भव थिएन ।

 

कोरोना संक्रमण बढेपछि गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारमा भने हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । ३ जनालाई उपचारका लागि हेलिकोप्टर चार्टर गरेरै राजधानी र झापा पठाइएको छ । जिल्लामा ७ जनाको मृत्यु भएको छ भने ९ सय बढी सक्रिय संक्रमित छन् । 
सरकारी अनुदानमा स्थापना गर्ने भनिएको विषय भने विवादमा फसेको छ । सत्तारुढ एमाले नेता र मन्त्रीको तानातानले यो विषय विवादमा परेको हो ।

 

जिल्ला सदरमुकाममा रहेको सामुदायिक अस्पतालको कोभिड केयर युनिटमा भेन्टिलेटर र आइसियु बेड राख्ने जिल्ला संकट व्यवस्थापन केन्द्रको सिफारिसमा कोभिड केयर युनिटमा भेन्टिलेटर राख्ने सिफारिस स्वास्थ्य मन्त्रालयबाट स्वीकृत भएलगत्तै दबाबमा मन्त्रालयले अस्पताल नै फेरेर जिल्ला अस्पताल रुम्जाटार राख्न अर्को परिपत्र गरेको छ । 

 

जिल्ला संकट व्यवस्थापन केन्द्रको सिफारिस बोकेर स्वास्थ्य मन्त्रालय पुगेका माधव नेपाल पक्षीय निवर्तमान सांसद तथा एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवारले सामुदायिक अस्पतालमा भेन्टिलेर राख्न भएको निर्णय सबैलाई धन्यवाद दिँदै फेसबुकमा हालेका थिए ।

 

त्यसपछि ईश्वर पोखरेल निकट प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बीरबाबु गुरुङको दबाबमा पोखरेल स्वयंले उक्त निर्णय फेर्न लगाएर ७ बेडको अस्पतालमा ५ बेडको आइसियु र भेन्टिलेटर राख्ने निर्णय भएको छ । यसले जिल्लामा आउने सुविधा अन्योलमा परेको
छ ।