काठमाडौं– काठमाडौं महानगरले आउँदो मंगलबारदेखि ६० देखि ६४ वर्षसम्मकालाई दिइने कोभिड–१९ विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १८ जेठको निर्णयका आधारमा शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय र महानगरको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागको बैठक बसेको थियो । बैठकले हरेक वडामा एक–एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । सोही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्न पत्राचार गरिएको हो ।
उक्त उमेर समूहका व्यक्तिका लागि भेरोसेल चिनियाँको पहिलो मात्रा दिन लागिएको हो । सरकारले खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने, त्यसपछि ६५ वर्षदेखि माथिल्लो उमेर समूहका व्यक्ति र तेस्रोमा १८ देखि ५९ वर्षकालाई खोप उपलब्ध गराएको थियो ।
११ जेठसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप कार्यक्रमबाट करिब १ लाख व्यक्ति लाभाविन्त भएको महानगरले जनाएको
छ ।