काभ्रे– कोभिड–१९ को महामारीलाई लक्षित गर्दै काभ्रेको नमोबुद्ध नगरपालिकाबाट भकुन्डेबेँसीमा सञ्चालित आइसोलेसन केन्द्रका लागि दाताबाट आवश्यक स्वास्थ्य सामग्री प्राप्त हुने क्रम बढ्दै गएको छ । सोही क्रममा भकुन्डेबेँसी जेसिज र भकुन्डेबेँसी जुनियर जेसिजले अत्यावश्यक स्वास्थ्य सामग्री आइसोलेसन केन्द्रका लागि हस्तान्तरण गरेका हुन् ।
आइसोलेसन केन्द्रका लागि जेसिजले ५० हजार रुपैयाँ बराबरको अत्यावश्यक औषधी, मास्क, पिपिई, अक्सिमिटरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आइसोलेसन केन्द्रमा आयोजित कार्यक्रममा भकुन्डेबेँसी जेसिज वर्ष २०२१ का अध्यक्ष सुदर्शन चिमौरियाले नमोबुद्धका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
कार्यक्रममा मेथिनकोट अस्पतालका अध्यक्ष कृष्णप्रसाद खनाल, भकुन्डेबेँसी जेसिजका पूर्वअध्यक्ष हरिहर अधिकारी, केबी तिमल्सिनालगायत उपस्थित थिए ।
मेथिनकोट अस्पतालका अध्यक्ष खनालले सबैको सहयोगमा कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणमा लागिपरेको बताउँदै जेसिजको सहयोगले थप हौसला मिलेको धारणा व्यक्त गरे । मेथिनकोट अस्पताललाई नमुना अस्पतालको रूपमा विकास गर्ने लक्ष्य लिइएको र यसमा सबै पक्षको सहयोग आवश्यक रहेको पनि उनको भनाइ छ ।
नमोबुद्धका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले संकटका बेला जेसिजले गरेको सहयोगले कोरोना रोकथाम र नियन्त्रणको अभियानलाई हौसला मिलेको बताए ।
नमोबुद्ध वडा नम्बर ४ स्थित जनक बहुमुखी क्याम्पसमा नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्त रूपमा ४० बेडको आइसोलेसन केन्द्र सञ्चालन गरिरहेका छन् । केन्द्रमा हाल कोभिड १९ बाट संक्रमित ७ जना बिरामी रहेको आइसोलेसन केन्द्रकी इन्चार्ज मथुरा सत्यालले जानकारी दिइन् ।
सत्यालका अनुसार आइसोलेनि केन्द्रमा हालसम्म ४१ जना कोभिड–१९ बाट संक्रमित बिरामी भर्ना भइसकेका छन् । त्यसमध्ये २८ जना डिस्चार्ज, ५ जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ भने १ जनाको निधन भएको छ ।
आइसोलेसन केन्द्रका लागि यसअघि प्रारम्भ सामाजिक संस्था, आनी छोइङ डोल्मा फाउन्डेसनलगायत दाताले स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।