जुम्ला- जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ६ रावतबाडा गाउँ १ साताका लागि सिल गरिएको छ । कोरोना संक्रमणले गाउँ नै प्रभावित भएपछि १ साता सिल गरिएको हो ।
गाउँपालिका स्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले १९ देखि २८ जेठसम्म रावतबाडा गाउँ १ साताका लागि सिल गर्ने निर्णय गरेको पालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।
उनका अनुुसार बाहिरबाट आएका कुनै पनि व्यक्ति गाउँ प्रवेश पाउने छैनन् । रावतबाडा र खड्काबाडाबीच आउजाउ बन्द गरिएको छ । यी दुवै सीमा जोडिएका गाउँ हुन् ।
गाउँमा कोरोना संक्रमित बढ्न सक्ने भएकाले पालिकाले आइसोलेसन थप गर्ने निर्णय गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।
मंगलबार गाउँका २७ जनामा एन्टिजेन परीक्षण गरेकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित सबैलाई गाउँपालिकाले बनाएको आइसोलेसनमा चिकित्सकको निगरानीमा राखिएको छ ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंले बुधबार गाउँका ५५ घरधुरीका १०९ जनाको पिसिआरका लागि स्वाब संकलन गरिएको बताए । परीक्षण गरिएको स्वाबको नतिजा आइसकेको छैन ।
‘गाउँमा कोरोना संक्रमण भयावह हुन सक्ने अवस्था आयो’, गाउँपालिका स्वास्थ्य संयोजक चौलागाईंले भने, ‘त्यसकारण गाउँ नै सिल गर्ने निर्णय भयो ।’
१ सातादेखि गाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गाउँपालिकाको सक्रियतामा उच्च सतर्कता अपनाइएको छ । एकै पटक ठूलो संख्यामा कोरोना पुष्टि भएपछि गाउँमा जनस्वास्थ्य सेवा कार्यालयको टोली बोलाएर पिसिआरका लागि स्वाब संकलन गरिएको हो ।
यसअघि रावतबाडा गाउँमा विवाहलगायत सामूहिक गतिविधि तीव्र भएका थिए । काठमाडौं, सुर्खेत र भोजपुरलगायत जिल्लाबाट मान्छे भित्रिएका थिए । गाउँमा कोरोना लक्षणका बिरामी बढेको थाहा पाएपछि वडाध्यक्ष विशाल खड्का स्वास्थ्यकर्मीसहित गाउँ पुगेका थिए ।
उनले बिरामीको अवस्थाबारे जानकारी लिएर पहिलो दिन एन्टिजेन परीक्षणका लागि कोभिड अस्पतालमा २७ जनालाई पठाएका थिए । गाउँमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारी पुगेर सचेतना फैलाउनेदेखि लक्षणअनुसारको औषधी दिने गरिएको स्वास्थ्य शाखा संयोजक चौलागाईंले जानकारी दिए ।
जुम्लामा कोरोना संक्रमितको संख्या ४२८ पुगेको छ भने १८९ जना निको भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालय जुम्लाले पिसिआर, एन्टिजेनमार्फत कोरोना परीक्षण गर्दै आएका छन् ।