सुर्खेत- वीरेन्द्रनगर नगरपालिकाले समुदायस्तरमै कोरोना परीक्षण सुरु गरेको छ । यसअघि साताको तीन दिन एकै ठाउँबाट स्वाब संकलन गर्दै आएको नगरपालिकाले अब समुदायस्तरमै पुगेर संक्रमित खोज्न थालेको हो ।
कर्णाली प्रदेशको राजधानीमा रहेको यो पालिकाले परीक्षणलाई सहज बनाउन र टोलस्तरको तत्कालीन अवस्था थाहा पाउन समुदायस्तरमै परीक्षण सुरु गरेको उपप्रमुख मोहनमाया ढकालले बताइन् ।
‘संक्रमणको ‘चेन ब्रेक’ गर्नका लागि पनि परीक्षणको दायरा बढाएका हौं,’ उपप्रमुख ढकालले भनिन्, ‘२३ जेठसम्म अति प्रभावित क्षेत्रको स्वाब संकलन तथा परीक्षण गरी सकिने छ । र, तत्कालीन अवस्था केलाएर संक्रमण नियन्त्रणको अर्को कदम चाल्ने छौं ।’
राजधानीको पालिका भएकाले राजनीतिक लगायतका चहलपहल बढी हुने भएका कारण पालिकामा दिनदिनै संक्रमित बढिरहेका छन् ।