खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोभिड–१९ को संक्रमणबाट गम्भीर अवस्थामा पुगेका संक्रमितलाई अस्पताल लैजान निःशुल्क हेलिकोप्टर सेवाको व्यवस्था गर्न माग गरेको छ ।
कोभिड–१९ को संक्रमणका कारण सिकिस्त अवस्थामा पुगेका संक्रमितले कम्तीमा साढे ३ लाख रुपैयाँमा हेलिकोप्टर चार्टर गर्न बाध्य भएको भन्दै नगरपालिकाले तत्काल अस्पताल लैजानुपर्ने र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका संक्रमितलाई सुविधासम्पन्न अस्पतालमा पु¥याउन सरकारसमक्ष निःशुल्क हेलिकोप्टर सेवाको व्यवस्था गर्न माग गरेको हो ।
नगरप्रमुख दीपनारायण रिजालले आइतबार प्रधानमन्त्रीलाई पत्र पठाउँदै जिल्लाबाट अन्यत्रका अस्पतालमा जानका लागि हेलिकोप्टर चार्टर शुल्क अत्यधिक महँगो भएकाले क्रिटिकल अवस्थाका बिरामीलाई निःशुल्क हेलिकोप्टर व्यवस्था गरिदिन अनुरोध गरेका हुन् ।
गम्भीर अवस्थाका बिरामी बोक्न ‘नम्र्स’ बनाएर संघीय वा प्रदेश सरकारमार्फत निःशुल्क हेलिकोप्टर चार्टरको व्यवस्थाका लागि आग्रह गरिएको नगरप्रमुख रिजालले जानकारी दिए ।
गत १५ जेठमा वडा नम्बर १ दिक्तेलका ७८ वर्षीय संक्रमित वृद्धालाई ३ लाख ५० हजार रुपैयाँमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको छ । यस्तै, १० जेठमा दिक्तेलकै ६४ वर्षीय पुरुषलाई ३ लाख ५० हजार र गत ५ जेठमा ऐँसेलुखर्क गाउँपालिका वडा नम्बर ३ का एकै परिवारका ३ जना संक्रमितलाई ३ लाख २० हजार रुपैयाँमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो ।
अन्य किसिमका रोग लागेका बिरामी वा घाइतेलाई काठमाडौं लैजाने क्रममा पनि कम्तीमा २ लाख रुपैयाँमा हेलिकोप्टर चार्टर गर्ने गरिएको छ । अस्पताल पुग्न हेलिकोप्टर चार्टर गर्ने आर्थिक अवस्था सबै संक्रमितको हुँदैन । हेलिकोप्टर चार्टर गर्न नसक्ने अवस्थाका संक्रमित थप पीडामा छन् ।
पछि स्वास्थ्यमा जटिल समस्या आउने र हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था आउने त्रासमा कतिपय संक्रमित धमाधम काठमाडौं, विराटनगरलगायत अस्पतालमा जान थालेकाले सरकारसमक्ष निःशुल्क हेलिकोप्टर सेवाको माग गरिएको नगरप्रमुख रिजालले बताए ।
‘अहिले संक्रमितले हेलिकोप्टर चार्टरमा साढे ३ लाख रुपैयाँ शुल्क तिरिरहनु परेको छ । सबैको हेलिकोप्टर चार्टर गर्न सक्ने अवस्था छैन । पछि समस्या भइहाल्यो भने हेलिकोप्टर चार्टर गर्न सकिन्न । पैसा तिर्न सकिन्न । हाम्रो ज्यान जान्छ भनेर संक्रमितहरू पहिल्यै गाडीमार्फत काठमाडौं र विराटनगर गइरहेका छन्,’ रिजालले भने, ‘त्यही भएर जिल्ला अस्पतालबाट रेफर भएकामध्ये क्रिटिकल अवस्थामा रहेका र तत्काल उद्धार गर्नुपर्ने कोभिड संक्रमित बिरामीको उद्धारका लागि निःशुल्क हेलिकोप्टरको व्यवस्थाका लागि आग्रह गरेका हौँ ।’
नगरपालिकाले गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मुख्यामन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ र सामाजिक विकास मन्त्रालय प्रदेश १ लाई बोधार्थ दिइएको जनाएको छ ।
भविष्यमा स्वास्थ्यमा समस्या आउने र हेलिकोप्टर चार्टर गर्नुपर्ने त्रासमा नगरपालिकाका संक्रमित पहिल्यै अस्पताल पुग्न बाध्य छन् । हालसम्म ८ जना संक्रमितलाई नगरपालिकाकै गाडीमा हालेर अस्पताल पु¥याइएकामा ३ जना निको भएर फर्किइसकेको नगरप्रमुख रिजालले बताए ।