close

वडा–वडाका टोल पछ्याएर कोरोना परीक्षण गर्दै सिरिजंघा

वडा–वडाका टोल पछ्याएर कोरोना परीक्षण गर्दै सिरिजंघा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– समुदाय स्तरमै कोरोना संक्रमण फैलन थालेको आशंकामा ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले वडा–वडामै पुगेर परीक्षण सुरु गरेको छ । 

 

एन्टिजेन परीक्षणमार्फत वडा तहमै पुगेर कोरोेनाको मिल्दोजुल्दो लक्षण देखिएका र संक्रमितसँग नजिक रहेकाहरूको परीक्षण गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।

 

गाउँपालिका अध्यक्ष टीकाराम गुरुङ परीक्षण गर्ने स्वास्थ्यकर्मीको टोली लिएर पालिकाभित्रका वडा–वडा पुग्न थालेका हुन् । उनका अनुसार १० जेठको गाउँ कार्यपालिकाको बैठकले एन्टिजेनमार्फत शंकास्पद बिरामीमा परीक्षणको दायरा बढाउने र आवश्यकताअनुसार वडा–वडामै पुगी परीक्षण गर्ने निर्णय लिइएको थियो ।

 

सोहीअनुसार वडा नम्बर ७ खेवाङमा पुगेको टोलीले त्यहाँ ३८ जनाको एन्ीिजेन परीक्षण गर्दा १२ जनाको रिपोर्ट पोजेटिभ आएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए । 

 

वडा–वडामै पुगी परीक्षण गर्दा दुई विषयमा एकसाथ फाइदा पुग्ने गाउँपालिकाको विश्वास छ । प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार पहिलो समुदाय स्तरमै फैलिइसकेको हो भने संख्या पत्ता लगाई नियन्त्रण गर्न सहज हुनेछ । दोस्रो, नागरिकमा सचेतीकरणको भाव पैदा हुनेछ ।

 

‘वडा स्तरमा पहिलो परीक्षण गरिएको स्थान खेवाङको नतिजाले नै कोरोना संक्रमण समुदायै फैलिएको देखिएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि परीक्षण तथा उपचारको दायरा फराकिलो बनाउनुपर्ने स्पष्ट मार्गचित्र दिएको छ’, घिमिरेले भने ।

 

यो परीक्षणबाट गाउँपालिकालाई संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमित व्यवस्थापन र उपचारको पहुँच स्थापित गर्न मार्ग प्रशस्त भएको र आगामी यात्रा सोही दिशामा केन्द्रित गरिने गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए ।