बागलुङ- बागलुङमा आउँदो १२ जेठदेखि दोस्रो चरणको कोभिड खोप अभियान सञ्चालन हुने भएको छ ।
सोमबार बसेको जिल्ला खोप समन्वय समितिको बैठकले १२ देखि १४ जेठसम्म खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
पहिलो चरणको खोप लगाएर छुटेका अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई मात्रै यस पटक खोप लगाइने छ । खोप लगाउन जिल्लाभर १० वटा केन्द्र तोकिएको छ ।
तत्कालका लागि स्वास्थ्य कार्यालयसँग ९ सय ३० भायल कोभिसिल्डको खोप मौज्दात रहेकाले सोही खोप दोस्रो डोज लगाउन छुटेकालाई दिइनेछ ।
पहिलो डोज लगाएर दोस्रो डोज नपाएका ज्येष्ठ नागरिकले भने तत्काल यो सुविधा पाउने छैनन् । समितिको निर्णयअनुसार अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, जनप्रतिनिधि र पत्रकारले छुटेको दोस्रो डोज लगाउन पाउनेछन् ।