close

कोरोना नियन्त्रण गर्न गाउँ-गाउँ पुग्दै गल्याङ 

कोरोना नियन्त्रण गर्न गाउँ-गाउँ पुग्दै गल्याङ 

Trulli
ADVERTISEMENT

स्याङ्जा- कोरोना संक्रमणको उच्च जोखिममा गल्याङ नगरपालिकाको टोली गाउँबस्तीमै पुग्न थालेको छ । गल्याङको बजार क्षेत्रमा कोरोना प्रभाव कम हुँदै गए पनि ग्रामीण भेगमा अझै नियन्त्रणमा नआएपछि नगरपालिकाको टोली गाउँ पुगेको हो ।

 

गल्याङ नगरप्रमुख भूपराज अधिकारीको नेतृत्वमा वडा नम्बर ११ जिमुहामा पुगेको टोलीले महामारीको सामना गर्न स्थानीयलाई आग्रह गरेको छ । 

 

कोरोना संक्रमण थप फैलिन नदिन नगरपालिकाको सबै ध्यान केन्द्रित गरेको नगरप्रमुख अधिकारीले बताए । महामारीको सामना गर्न भीड नगर्ने र स्वास्थ्य मापदण्डको पालना गर्नु नै कोरोनाबाट जोगिने उपाय रहेको उनको सुझाव छ ।


नगरप्रमुख अधिकारीले समस्या परे नगर अस्पताल वा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न नागरिकलाई आग्रह गरे । उनले भने, ‘नगर अस्पतालमा निःशुल्क बेड र अक्सिजन व्यवस्था गरिएको छ । थप उपचार गर्नुपर्ने भए अन्य अस्पताल पठाउने व्यवस्था गरेका छौं ।’


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले जिमुहा क्षेत्रबाट संक्रमितलाई गाडीमा लैजाने व्यवस्था गरिएकाले समस्या परे तुरुन्तै सम्पर्क गर्न आग्रह गरे । सो क्षेत्रमा एन्टिजेन परीक्षणको तयारी भइरहेको उनले जानकारी दिए ।

 

वडाध्यक्ष शंकरदेव अधिकारी तथा स्वास्थ्य संयोजक गुनेन्द्र रानासहितको टोलीले उक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ । उक्त अवसरमा सवारी चालकलाई पिपिईसहितका स्वास्थ्य सामग्री एवं बिरामीका लागि औषधी वितरण गरियो ।


 
मंगलबारदेखि साविक तुलसीभञ्ज्याङ वडा नम्बर ३, ५ र ७ का प्रत्येक घरका व्यक्तिको एन्टिजेन परिक्षण गरिनेछ । कोरोनाका कारण गल्याङ नगरपालिकामा २५ जनाको निधन हुँदा सबैभन्दा धेरै वडा नम्बर ११ का ६ जना रहेका छन् ।

 

अस्पताललाई १२ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग 

 

स्याङ्जाको वालिङ वडा नम्बर ८ घर भई हाल हङकङमा बस्दै आएका मोहन गुरुङ र बीना गुरुङले गह्रौँ प्राथमिक अस्पताललाई १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

 

उक्त परिवारले बुबा यामबहादुर गुरुङमार्फत वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणलाई सामग्री उपलब्ध गराएको हो । नगरपालिकाले सञ्चालनमा ल्याएको गह्रौँ प्राथमिक अस्पतालको आइसोलेसन कक्षमा प्रयोग गर्ने गरी सहयोग गरेको यामबहादुरले बताए ।

 

अस्पतालका प्रमुख डा. सरोज थापाले सहयोगी दाताले अस्पताललाई आवश्यक परेका सामग्री उपलब्ध गराएर बिरामीको उपचारलाई थप प्रभावकारी बनाउन सहयोग गर्नुपर्नेमा जोड दिए ।

 

कोभिड रोकथाम तथा नियन्त्रणका लागि वालिङ नगरपालिकासँगै विभिन्न दाताबाट प्राप्त सहयोगले हौसला थपेको नगर उपप्रमुख कल्पना तिवारीले जानकारी दिइन् ।

 

मनिटर ५ थान, ह्विल चियर १० थान, स्ट्रेचर १० थान, १०० लिटरको अटोक्लेम मेसिन १ थान, पिपिई सेट १०० थान, बिरामी बोक्ने ट्रली २ थान, एन्टिजेन टेस्ट किट ५० पिस, एन नाइन्टी फाइभ मास्क ३०० थान अस्पताललाई उपलब्ध गराइएको हो ।