धनकुटा– धनकुटाको छथर जोरपाटी गाउँपालिकाले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको घर–घरमा पुगेर स्वास्थ्य सामग्री वितरणसहित हौसला बढाउन थालेको छ ।
गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बू नेतृत्वको टोलीले कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा वडाध्यक्षहरू समुदायको घरदैलोमै पुगेको हो ।
होम आइसोलेसनमा रहेकालाई अध्यक्ष लिम्बूले सुरक्षित रहेर स्वास्थ्यको ख्याल गर्न र आवश्यक परे पालिकासँग सहयोग माग्न तथा स्वाब परीक्षण गर्न आग्रह गरे ।
पालिका अध्यक्ष तथा जनप्रतिनिधि दुःखको बेला घरमै आएर स्वास्थ्य स्थितिबारे चासो लिएकामा आफूहरूलाई हौसला मिलेको संक्रमित बताउँछन् ।
‘बिरामी भएका बेला अध्यक्षसहितको गाउँपालिकाको प्रशासन आएकामा खुसी लागेको छ’, वडा नम्बर ६ नाम्जाका संक्रमितले भने ।
पालिकाले होम आइसोलेसनमा रहेका ४७ जनालाई थर्मोमिटर, स्यानिटाइजर, मास्क, मल्टी भिटामिन, सिटामोल, साबुन, अन्डालगायत सामग्री सहयोग गरिरहेको छ ।
आइतबार मात्रै वडा नम्बर २, ३, ५ र ६ का ४३ जना कोभिड बिरामीलाई स्वास्थ्य सामग्री वितरण गरिएको पालिकाका सूचना अधिकारी नेत्रबहादुर श्रेष्ठले जानकारी दिए ।