ताप्लेजुङ– कोरोनाको दोस्रो भेरियन्ट सुरु भएयता ताप्लेजुङमा पिसिआर तथा एन्टिजेनबाट परीक्षण गरिएकामध्ये करिब साढे २७ प्रतिशतको रिपोर्ट पोजेटिभ आएको छ । सोमबार अपराह्नसम्म कुल २०२१ जनाको स्वाब संकलन गरिएको छ, जुन ताप्लेजुङको कुल जनसंख्याको करिब १.६० प्रतिशत हो ।
स्वाब तथा एन्टिजेन परीक्षण गरिएका २०२१ मध्ये ४४८ जना पिसिआर र १०४ जना एन्टिजेन परीक्षणको क्रममा पोजेटिभ देखिएका छन् ।
जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार सोमबारसम्म १५९५ जनाको स्वाब संकलन गरिएको छ । सोमबार नगरपालिकाले १५१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाउने तयारी गरेको फुङ्लिङ नगरपालिकाका स्वास्थ्य संयोजक मञ्जु गुरुङले जानकारी दिइन् ।
यसमध्ये १०१ जना यसअघि संक्रमित भई कम्तीमा १४ दिन आइसोलेसनमा बसेकाहरूको फलोअप र ५० जना नयाँ रहेको गुरुङले बताइन् । स्वाब संकलनपछि रिपोर्ट आएका १४४४ मध्ये २५५ पुरुष र १९३ महिला गरी ४४८ जनालाई संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकामध्ये ३७३ जना अझै पनि सक्रिय संक्रमित छन् । सक्रिय संक्रमित भएकामध्ये २१८ पुरुष र १५५ महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै, जिल्लाभर २८१ पुरुष र १४५ महिला गरी ४२६ जनाको एन्टिजेन परीक्षण गर्दा १०४ जनालाई पोजेटिभ देखिएको छ । पोजेटिभ हुनेमा ६६ पुरुष र ३८ महिला छन् ।
एन्टिेजेनबाट पोजेटिभ भएकामध्ये ६१ पुरुष र ३१ महिला गरी ९२ जना सक्रिय संक्रमित रहेका छन् । ७ एन्टिजेनसहित ८६ जना कोरोना संक्रमणमुक्त भएकोसमेत जनस्वास्थ्य अधिकृत खरेलले बताइन् ।
यस्तै, जिल्लामा ६ महिला सहित ९ जनाले ज्यान गुमाइसकेका छन् भने कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका तर पुष्टि नभएका २ जनाको पनि निधन भएको छ ।
जिल्लामा सबैभन्दा बढी संक्रमित फुङलिङ नगरपालिकामा रहेका छन् । नगरपालिकाभित्र २० एन्टिजेनसहित ३८३ जनालाई पुष्टि हँुदा हाल २९१ जना सक्रिय संक्रमित छन् ।
मेरिङदेन गाउँपालिकामा २ एन्टिजेनसहित २९ जनाको परीक्षण गर्दा हालसम्म कसैले पनि कोरोनालाई जितेका छैनन् । आठराई त्रिवेणीमा ५ पिसिआरसहित २२ जना संक्रमित छन् ।
मैवाखोला पनि ५ पिसिआरसहित १३ जना, मिक्वाखोलामा १६ जना, पाथीभरा याङ्बरकमा ५ एन्टिेजनसहित १६ जना सक्रिय संक्रमित छन् । सिरिजंघा गाउँपालिकामा २ एन्टिजेनसहित १७ जना, फक्ताङलुङमा एन्टिजेनका ५ जना र सिदिङवामा पिसिआरका ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै, ताप्लेजुङमा जिल्ला अस्पताल ७९ पुरुष र ४२ महिला गरी १२१ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनालाई पोजेटिभ देखिएको छ । तीमध्ये ३२ पुरुष र २० महिला गरी ५२ जना एन्टिजेनका सक्रिय संक्रमित रहेको जिल्ला अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. भरत खत्रीले बताए ।
मध्यतमोर जलविद्युत् परियोजनामा कार्यरतको स्वाब संकलन गरी पठाइएकामा १०३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका कोभिड–१९ फोकल पर्सन हेमराज कठायतले जानकारी दिए ।
ताप्लेजुङमा १७ जेठसम्म थपियो निषेधाज्ञा
ताप्लेजुङमा निषेधाज्ञाको अवधि चौथो पटक थपिएर आउँदो १७ जेठ मध्यरातीसम्म पु¥याइएको छ ।
जिल्ला प्रशासन कार्यालयले आइतबार १६ जेठसम्म निषेधाज्ञा थपेको हो । तेस्रो पटक गत ३ जेठमा थप भएको निषेधाज्ञा १० जेठको मध्यराती सकिँदै छ ।
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकमा १७ जेठको मध्यरातीसम्म निषेधाज्ञा बढेको जानकारी गराए । आइतबार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले निषेधाज्ञाको अवधिमा खाद्यान्न, तरकारीसहितका अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिद बिक्रीका लागि प्रत्येक दिन बिहान ६ देखि ९ बजेसम्मको अवधि निर्धारण गरेको छ ।