रूपन्देही- लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले ठूला सिलिन्डर घरमा नराखिए अक्सिजन अभाव पूर्ति गर्न सकिने बताएका छन् ।
रोटरी क्लब अफ बुटवलको १३६४औँ नियमित बैठकमा निम्त्याइएको डा. देवकोटाले २ तिहाइ सिलिन्डर घरघरमा व्यक्तिले होल्ड गर्दा अस्पतालमा गम्भीर बिरामीले अक्सिजन अभावमा ज्यान गुमाउनु परेको दुःखेसो पोखे ।
‘घरमा आइसोलेसनमा रहेका बिरामीले ठूला सिलिन्डर राखेर पनि हाइफ्लो अक्सिजन दिन सकिँदैन तर अस्पताल भर्ना भएका बिरामीलाई हाइफ्लो अक्सिजन दिनुपर्ने हुन्छ । सिलिन्डर अभावले अस्पतालमा धेरै संक्रमितले ज्यान गुमाएका छन्’, उनले भने ।
सचिव देवकोटाले सर्वसाधारणलाई घरमा राखिएका सिलिन्डर अस्पताललाई दिएर सहयोग गर्न आग्रह गरे । अहिले अस्पतालमा अक्सिजनकै कारण बेड अभाव देखिएकाले सिलिन्डर नहुँदा अक्सिजन भर्न नसकिएको उनको भनाइ छ ।
कोभिड संक्रमण नियन्त्रणका लागि भारतबाट अक्सिजन लिक्विड ल्याउन सुरु गरिएको र ठूला सिलिन्डर घरमा नराख्ने र अक्सिजन प्लान्ट जडान प्रक्रिया अगाडि बढाइए कोभिड-१९ को नयाँ भेरियन्टलाई नियन्त्रण गर्न सकिने उनको दाबी छ ।
रोटरी जस्ता सामाजिक संस्थाले यसतर्फ जनचेतना जगाउनुपर्ने र सर्वसाधारणको भीडभाडलाई कम गर्नेतर्फ सामाजिक चेतनाको भूमिका खेल्नुपर्ने सुझाव डा. देवकोटाले दिए ।
अहिले परीक्षण गरिएकामा ५० देखि ६० प्रतिशतमा संक्रमण देखिने गरेको र यसमा पनि लुम्बिनी प्रदेशले कुल संक्रमितको २० प्रतिशत ओगटेको भए पनि प्रदेशमा निको हुने दर पनि ६५ प्रतिशत रहेको उनले जानकारी दिए ।
७ वटामध्ये २ प्रतिशत संक्रमित लुम्बिनी प्रदेशमा छन् । प्रदेश सरकारले आफ्नो ध्यान परीक्षण गर्ने र संक्रमितलाई आइसोलेट गर्नेतर्फ केन्द्रित भएर काम गरिरहेको छ’, उनले भने ।
लुम्बिनी प्रादेशिक अस्पतालमा रहेका २५ वटा आइसियु बेड र मेडिकल कलेज भैरहवाका झन्डै सय बेडमा अझै अक्सिजन पुर्याउन नसकिएकाले अक्सिजन भए ती बेड पनि सञ्चालनमा आउने उनको दाबी छ ।
लुम्बिनी प्रदेशका लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती प्रादेशिक अस्पताल, भेरी अस्पताल र भीम अस्पताल गरी ४ वटा कोरोना विशेष अस्पतालमा कोभिड नियन्त्रणका लागि थप ५८३ जना जनशक्ति दरबन्दी स्वीकृत गरिएको जानकारी दिए ।
रोटरी क्लब अफ बुटवलका अध्यक्ष सुनील श्रेष्ठको अध्यक्षतमा आयोजित भर्चुअल बैठकमा रोटरीयन मणिरत्न पाण्डे, पुरन श्रेष्ठ, राजेन्द्र ध्वजू, रोम शर्मा, खिमनारायण पराजुली, कृष्णप्रसाद अर्याल, डा. मनोहर जोशी, रोटर्याक्ट क्लब अफ लुम्बिनी वाणिज्य क्याम्पसका वरुण ज्ञवालीलगायतले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए ।