कास्की- कास्कीको अन्नपूर्ण गाउँपालिकामा ५ शैय्याको कोभिड अस्पताल स्थापना गरिएको छ । ढिकुरपोखरीस्थित दिगो महिला विकास बचत तथा ऋण सहकारी संस्थाको भवनमा अस्पताल सञ्चालनमा ल्याइएको हो ।
२ जना अनमी २४ सै घन्टा खटाएर बिरामीको उपचार व्यवस्था मिलाइएको पालिका अध्यक्ष युवराज कुवँरले बताए । बिहे र पूजाका कारण पालिकामा अहिले कोभिड बिरामी ह्वात्तै बढेका छन् । उनीहरू अधिकांश होम आइसोलेसनमा छन् ।
‘कोभिड-१९ फैलिँदै गएको छ । हामीले छेकबार लगाउँदालगाउँदै कसरी पस्यो पत्तै पाइएन’, उनले भने, ‘अब उपचार गराउनुपर्यो । हाम्रो क्षमताले भेटेजति काम गर्छौं ।’
पालिकाले घरघरमै स्वास्थ्यकर्मी खटाएर बिरामीको स्वास्थ्य जाँच गराउन थालेको छ । दिनहुँ १० देखि २० जनासम्म संक्रमित फेला पर्न थालेका छन् ।
बुधबार अन्नपूर्णको वडा नम्बर ५ स्थित झोवाङ गाउँका २१ संक्रमितको घर पुगेर उनीहरूलाई आत्मबल बढाउन हौसला दिइएको छ । त्यस्तै भिटामिन बी, सी र डी तथा मास्क पनि वितरण गरिएको अध्यक्ष कुँवरले जानकारी दिए ।
पालिकाले वडा स्तरमै सम्पर्क व्यक्ति खटाउने, घान्द्रुक, नयाँपुल र ढिकुरपोखरी क्षेत्रमा उपचारका लागि एम्बुलेन्स व्यवस्था गरिएको छ । सबै नागरिकलाई घरभित्रै बस्न आग्रह गरिएको छ ।