भक्तपुर- कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै भक्तपुर अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ । अस्पतालमा दैनिक २ सय सिलिन्डरका आवश्यकता भएपनि दैनिक एक सय वटा सिलिन्डरमात्र पूर्ति भएको छ ।
अस्पतालका मेसु सुमित्रा गौतमका अनुसार एक सय सिलिन्डर बिरामीका लागि रोटेसनमा राखिएता पनि अक्सिजन आवश्यक भएका संक्रमितको संख्या बढेसँगै सिलिन्डर अभाव चरम भएको छ ।
‘पहिलो लहरको कोरानाको समयमा आएका बिरामीहरुमा सामान्य लक्षण देखिन्थ्यो । जुन बेला अक्सिजनको खासै अभाव थिएन,’ उनले भनिन्, ‘दोस्रो चरणमा देखिएको कोरोना संक्रमितहरुमा स्वास्प्रस्वासमा देखिएको समस्यालाई मध्यनजर गर्दै अक्सिजन सिलन्डरको आवश्यकता छ ।’
अस्पतालमा अक्सिजनको अभाव भएपछि सँगैको क्यान्सर अस्पतालबाट थप १० सिलिन्डर ल्याएर संक्रमितको उपचार गरिएको गौतमले बताइन् ।
संक्रमितहरुको बढ्दो चाप र अक्सिजन सिलिन्डरको बढ्दो अभावलाई मध्यनजर गर्दै कसैले घरमा बिनाकाम अक्सिजन सिलिन्डर होल्ड गरेर नराखिदिन गौतमले आग्रह गरिन् ।
हाल भक्तपुर अस्पतालमा ५६ जना संक्रमित उपचारत छन्् । विभिन्न संघसंस्थाहरुले अक्सिजन सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएता पनि अभाव रहेका टर्न सकेको छैन ।