ताप्लेजुङ- ताप्लेजुङ सदरमुकाम फुङ्लिङको मुख्य प्रवेशद्वार काबेलीमा मंगलबारबाट यात्रुको परीक्षण गरी नामथरसहितको विवरण संकलन थालिएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा सोमबार काबेली पुगेको टोलीले मंगलबार बिहानबाट ताप्लेजुङ प्रवेश गर्ने यात्रुको ज्वरोको मापन लिने तथा नामथर र वतनसहितको विवरण संकलन थाल्ने गरी तयारी गरेको हो ।
काबेलीसहित गुफापोखरी र सुकेटार विमानस्थलमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय आइतबार बसेको जिल्ला कोरोना नियन्त्रण समितिको बैठकले गरेको थियो ।
‘मंगलबार बिहानबाट काबेलीमा ज्वरो मापन र यात्रुको ठेगानासहितको विवरण लिने कार्य सुरु हुनेछ’, प्रमुख जिल्ला अधिकारी पाण्डेले भने । नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न पालिकाकाबाट खटिने स्वास्थ्यकर्मीले त्यसको अगुवाइ गर्ने प्रजिअ पाण्डेले जानकारी दिए ।
काबेली ताप्लेजुङ प्रवेश गर्ने मुख्य नाका हो । अघिल्लो वर्ष कोरोनाको सन्त्रास फैलिइरहेका बेला कायम रहेको काबेलीको हेल्थ डेस्क केही शान्त भएपछि हटाइएको थियो । अहिले पुनः सुरु गरिएको हो ।
कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिले सोमबार नै काबेलीमा अर्को सूचना जारी नहुन्जेल पाथीभरा मन्दिरको दर्शन नगर्न अनुरोधसहितको होर्डिङ बोर्डसमेत राखेको छ ।
प्रजिअ पाण्डेले पाथीभरा मन्दिरसहितका मन्दिर तथा तीर्थस्थलमा तत्कालका लागि प्रतिबन्ध गरिएकोले मानिस भीडभाड हुने सबै कार्य तत्काल नगर्न÷नगराउन सबैलाइ आग्रह गरे ।
वाणिज्य संघको अधिवेशन रोक्न पत्र
जिल्ला प्रशासन कार्यालयले सोमबार ताप्लेजुङ उद्योग वाणिज्य संघलाई पत्र लेख्दै २५ जना बढी मानिस भेला हुने सबै कार्य तत्काललाई स्थन गर्न पत्र लेखेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले अधिवेशनमा २५ भन्दा बढीको जमघट हुने अवस्था आएको र गृह मन्त्रालयले यसअघि नै २५ जनाभन्दा बढीको उपस्थितिमा हुने सभा, भेला, कार्यशाला, सम्मेलन स्थगन गर्न भनिसकेकाले संघलाई पत्र पठाइएको जानकारी दिए ।
नयाँ नेतृत्व चयन गर्ने गरी ताप्लेजुङ उद्योग वाणिज्य संघको अधिवेशन आउँदो २९ वैशाखमा हुने कार्यक्रम तय भएको थियो ।
७२ जनाको स्वाब संकलन
कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको अगुवाइमा सोमबार ताप्लेजुङबाट ७२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजकुमार पोखरेलले ताप्लेजुङ जिल्ला अस्पतालमा कार्यरत कर्मचारी र फुङ्लिङ नगरपालिका वडा नम्बर ४ स्थित पाथीभरा क्याम्पस आसपासका गरी ७२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइएको बताए ।