खोटाङ– खोटाङमा कोभिड–१९ विरुद्ध पहिलो खोप लगाएका नागरिकलाई दोस्रो चरणको खोप दिन सुरु गरिएको छ ।
पहिलो चरणमा कोभिड–१९ विरुद्ध पहिलो खोप लगाएकालाई मंगलबारदेखि दोस्रो खोप दिन सुरु गरिएको हो ।
यसअघि पहिलो खोप लगाइसकेका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई दोस्रो खोप दिएर अभियान सुरु गरिएको हो । अनमी सुशीला आचार्य बस्नेतले प्रमुख जिल्ला अधिकारी शर्मालाई दोस्रो खोप लगाइदिएकी थिइन् ।
पहिलो चरणमा पहिलो खोप लगाएकालाई मंगलबारदेखि आगामी ११ वैशाखसम्म दोस्रो खोप दिइने स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । दोस्रो खोप लगाउन जिल्ला अस्पताल, हलेसी तुवाचुङ नगरपालिका, ऐँसेलुखर्क, रावाबेँसी, खोटेहाङ, जन्तेढुंगा र केपिलासगढी गाउँपालिकामा खोप केन्द्र निर्धारण गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा र साकेला गाउँपालिकाका लागि भने जिल्ला अस्पताल दिक्तेलबाट दोस्रो खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए ।
पहिलो चरणमा खोटाङका १ हजार ७६१ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका थिए । गत १५ देखि २४ माघसम्म सञ्चालन गरिएको खोप अभियानका क्रममा ६९१ जना र २ देखि ११ फागुनसम्म सञ्चालन गरिएको अभियानमा १ हजार ७० जनाले खोप लगाएका थिए ।
खोटेहाङका १ जनामा कोरोना पुष्टि
खोटेहाङ गाउँपालिकाका १ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । मंगलबार प्रदेश १ मा ९७ जना कोरोना संक्रमित थप हुँदा खोटेहाङका १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संक्रमितको नाम र ठेगाना खुलेको छैन । संक्रमितबारे जानकारी नभएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।
खोटेहाङबाट तराईमा बसिरहेका व्यक्तिलाई कोरोना संक्रमणको पुष्टि भएको अनुमान गरिएको छ । मंगलबार मोरङमा ५५, सुनसरीमा २४, झापामा १२ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ५२८ जनाको पीसीआर परीक्षण गर्दा ३४ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।