काठमाडौं– स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको नयाँ लहर फैलिएको भन्दै शिक्षण संस्थाहरूको प्रत्यक्ष पठनपाठन, फिल्म हल र पार्टी प्यालेस बन्द गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ ।
मन्त्रालयले कोराना भाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सीसीएमसीलाई सिफारिस गरेको हो ।
विद्यालयमा स्वास्थ्य मापदण्ड नपुगेकाले संक्रमण फैलन सक्ने भन्दै बन्द गर्न लागिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सीसीएमसीको बैठकमा सिफारिसमाथि छलफल हुने बताए ।
‘केही महिनादेखि विद्यार्थी भौतिक रूपमै उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ’, उनले भने, ‘अहिले विद्यालय बन्द गर्नुपर्छ । पठनपाठन गर्ने हो भने अनलाइनबाट गर्नुपर्छ ।’
विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेस्टुराँ, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको उनले जानकारी दिए ।
‘विद्यालयलगायत बन्द गर्न सीसीएमसीमा सिफारिस गरेका हौँ,’ उनले भने, ‘बुधबार नै निर्णय गरेर सीसीएमसीमा पठाइएको छ ।’ पछिल्लो समय नेपालमा कोरोनाको दैनिक संक्रमण बढ्दै गएको छ ।
बिहीबार मात्रै नेपालमा ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । विद्यालयका विद्यार्थी, शिक्षकमा समेत कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयले संक्रमण फैलिन नदिने उपायस्वरूप विद्यालयलगायत भीडभाड हुने पसल, व्यवसाय बन्द गर्न सिफारिस गरेको हो ।