ताप्लेजुङ– सरकारले अब प्रत्येक पालिकाका वडाहरूबाटै स्वास्थ्य बिमा कार्यक्रममा समावेश हुनेहरूको सूची दर्ता गर्ने भएको छ ।
त्यसका लागि प्रत्येक पालिकाका वडामा १–१ जना दर्ता कर्मचारी नियुक्त गर्ने स्वास्थ्य बिमा बोर्डको तयारी छ । वडापालिकाले दर्ता कर्मचारी छनोट गरी त्यसको सिफारिस स्वास्थ्य बिमा बोर्डमा पठाएपछि नियुक्ति प्रक्रिया पूरा हुने स्वास्थ्य बिमा बोर्ड प्रदेश १ संयोजक दुर्गाप्रसाद आचार्यले जानकारी दिए ।
स्वास्थ्य बिमाको प्रक्रिया र यसको लाभबारे स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालालाई बुझाउँदै हिँडेको टोलीले सोमबार फुङलिङ नगरपालिकामा जिल्लास्तरीय अभिमुखीकरण गरेको छ ।
स्वास्थ्य बिमा बोर्ड सदस्य सुवासकुमार लम्सालका अनुसार स्वास्थ्य बिमाको प्रक्रियामा रहेको ताप्लेजुङ ६९औँ जिल्ला हो । आउँदो २५ चैतभित्र देशका २ बाहेक अरू ७५ जिल्लामा यो कार्यक्रम सुरु भइसक्ने लम्सालले बताए ।
काठमाडौं र ललितपुरमा भने स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न प्रक्रिया सुरु भएको छैन । स्वास्थ्य बिमा बोर्डले २५ चैत २०७५ मा कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम यही आर्थिक वर्षभित्र देशका सबै जिल्लामा पु¥याउने सरकारी लक्ष्य छ ।
‘तपाईंको स्वास्थ्य, हाम्रो अठोट’ नारा दिएर सुरु गरिएको कार्यक्रम स्वास्थ्य सेवाको खर्चलाई कम गर्ने, स्वास्थ्य समस्याका कारणले हुन सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने अभियानबाट प्रेरित छ ।
बिरामी भएका बेला उपचारमा हुन सक्ने ठूलो खर्च धान्न कठिन नहोस् भनेर पहिले नै योगदान रकममार्फत जोखिम रकमको व्यवस्थापन भएको प्रणालीलाई स्वास्थ्य बिमा भनिन्छ । यो बिमाले स्वास्थ्य सेवा उपयोगका क्रममा हुने अधिकतम २ लाख रुपैयाँसम्मको खर्च बेहोर्न सघाउ पुर्याउँछ ।
बोर्डका प्रदेश १ संयोजक आचार्यका अनुसार जिल्लाका सम्पूर्ण नागरिक तथा सो जिल्लामा ६ महिनाभन्दा बढी अस्थायी बसोबास भएका नागरिकले स्वास्थ्य बिमा कार्यक्रममा समावेश हुन पाउँछन् ।
स्वास्थ्य बिमामा कसरी समावेश हुने
कार्यक्रममा सहभागी हुन बढीमा ५ जनासम्म सदस्य भएका परिवारले वार्षिक प्रतिपरिवार ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । ५ जना बढी सदस्य भए ३ हजार ५ सय रुपैयाँमा प्रतिसदस्य थप ७ सय रुपैयाँका दरले थप शुल्क लाग्नेछ ।
५ जना कम सदस्य भए पनि तिर्नुपर्ने ३ हजार ५ सय रुपैयाँको दायित्व भने कम हुँदैन । यदि अतिविपन्न परिवार, महिला स्वास्थ्य स्वयंसेविका, एचआईभी संक्रमित, कुष्ठ रोगी, टिबी रोग लागेका व्यक्ति, अतिअशक्त अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकको प्रमाणपत्र भएको व्यक्ति भए योगदान रकममा अनुदान र सहुलियत दिने कार्यविधि छ ।
तर, ताप्लेजुङमा अतिविपन्न परिवार कार्यक्रम लागू नभएकाले यो हकमा स्थानीय तहले बेहोर्नेबाहेक बिमा गर्ने परिवारले नै दायित्व वहन गर्नुपर्ने संयोजक आचार्यले जानकारी दिए ।
यस्ता छन् सुविधा
सुविधाको थैलीको सीमा ५ जनासम्मको परिवारलाई वार्षिक १ लाख रुपैयाँ रहेको छ । ५ जना बढी परिवारका सदस्य भए प्रतिथप सदस्यबापत २० हजार रुपैयाँको सीमा बढ्दै जान्छ । यसको अधिकतम सीमा भने २ लाख रुपैयाँको छ ।
सेवा उपलब्ध हुने स्थान
बीमित सदस्यले स्वास्थ्य सेवा लिन प्रथम बिन्दुको रूपमा बिमा बोर्डसँग सम्झौता गरेका कुनै पनि नजिकको स्वास्थ्य संस्था रोज्न पाउनेछन् । नजिकको स्वास्थ्य संस्था, प्राथमिक स्वास्थ्य केन्द्र वा सरकारी अस्पतालमध्ये जुन पनि हुन सक्छ । तर, कार्यक्रममा सूचीकृत भएको स्वास्थ्य संस्थालाई मात्रै प्रथम स्वास्थ्य संस्थाको रूपमा रोज्न पाइन्छ ।
वार्षिक नवीकरण अनिवार्य
कार्यक्रमको सदस्यता वार्षिक रूपमा दर्ता सहयोगीमार्फत नवीकरण गर्नुपर्छ । स्वास्थ्य बिमा कार्यक्रमको सदस्यता लिएपछि सेवा क्रियाशील भएको मितिदेखि लागू हुने गरी १ वर्षका लागि मात्र बिमा अवधि वैध रहन्छ ।
यो हिसाबले वैशाख, जेठ र असारमा सदस्यता दर्ता गरेका बीमित सदस्यको सदस्यता १ भदौबाट, साउन, भदौ र असोजमा दर्ता गरेकाको सदस्यता १ मंसिरबाट, कात्तिक, मंसिर, पुसमा दर्ता गरेका सदस्यको १ फागुनबाट र माघ, फागुन र चैतमा दर्ता गरेका सदस्यको सदस्यता अर्को वर्षको १ जेठबाट सोभन्दा अर्को वर्षको वैशाख मसान्तसम्म क्रियाशील रहन्छ । सोभन्दा अगावै बीमित सदस्यले सदस्यता नवीकरण गरिसक्नुपर्छ ।