रूपन्देही– जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले छिमेकी भारतमा फैलिएको कोरोना संक्रमणलाई ध्यानमा राख्दै सीमामा थप सतर्कता अपनाउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा बसेको डिसिसिएमसीको बैठकले सीमामा आवागमन अव्यवस्थित भएको स्वीकार्दै अबदेखि व्यवस्थित गर्ने निर्णय गरेको हो ।
बेलहिया नाका हुँदै भारतबाट आउने नागरिकलाई नाकामा स्थापना भएको हेल्थ डेस्कमा अनिवार्य स्वास्थ्य चेकजाँच गरी तिनको अभिलेख राखिने डिसिसिएमसी संयोजक एवं प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।
स्वास्थ्य चेकजाँच गर्दा कोही शंकास्पद भए सीमामै उनीहरूको स्वाब लिई एन्टिजेन टेस्ट गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । परीक्षणबाट पोजेटिभ देखिए अस्पताल, आइसोलेसन वा होम क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने निर्णय भएको घिमिरेले बताए ।
डिसिसिएमसी बैठकले जिल्लाका सबै पालिकालाई क्वारेन्टाइन र आइसोलेसन केन्द्र तयार राख्न निर्देशन दिएको छ । बैठकले भीडभाड, भेला, जात्रा पनि रोक्ने निर्णय गरेको छ ।
हाल सञ्चालनमा रहेका हाटबजार, विद्यालयलगायत क्षेत्रमा प्रभाव नपर्ने गरी अन्य सभा–सम्मेलन र भीडभाड हुने कार्यक्रम नगर्न बैठकले अनुरोध गरेको छ ।
सञ्चालनमा रहेका सार्वजनिक यातायात, हाटबजार, विद्यालयलगायतमा कडाइका साथ स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न लगाउन बैठकले सुरक्षा निकायलाई निर्देशन दिएको छ । भीडभाड हुने क्षेत्रमा मास्क, स्यानिटाइजर र सामाजिक दूरीको पालना गर्न निर्देश गरिएको छ ।
प्रजिअ घिमिरेको संयोजकत्वमा बसेको बैठकमा रूपन्देहीका पालिका प्रमुख तथा उप–प्रमुख, सुरक्षा निकायका प्रमुख, व्यावसायिक संघ–संस्था, होटल एसोसिएसनका प्रतिनिधिको उपस्थिति थियो ।
भेलामा उनीहरूले लकडाउन गर्नै नहुने सुझाव दिए । भारतमा कोभिड संक्रमण फैलिँदै गएपछि सीमामा सतर्कता अपनाउँदै आर्थिक क्रियाकलाप सञ्चालन हुनुपर्ने राय राखेपछि डिसिसिएमसीले सोहीअनुसारको निर्णय गरेको हो ।
तत्काल जिल्लामा कुनै अप्रिय घटना नभएकाले हाललाई सतर्कता बढाउने निर्णय भएको छ । सीमापारि बजार गर्न जानेको संख्या उत्तिकै रहेको हुँदा यसलाई पूर्ण रूपमा रोक्न बैठकले सुरक्षा निकायलाई निर्देशनसमेत दिएको छ ।
यस्तै, सीमापारिबाट नेपालमा औषधी, घर फर्किने नेपालीलगायतको अभिलेख राखेर सहज प्रवेश दिइनेछ भने नेपाल भ्रमणमा आउने पर्यटकलाई डिसिसिएमसीको बैठकले पूर्ण रोक लगाएको छ ।
सीमामा हेल्थ डेस्क राखी एन्टिजेन परीक्षण सुरु गरिएको पहिलो दिन नै भारतबाट नेपालमा काम गर्न आउँदै गरेका १ जना कामदारमा कोरोना पोजेटिभ देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार भारतबाट लुम्बिनी औद्योगिक करिडोरमा रहेको उद्योगमा काम गर्न आइरहेका राजस्थानका १ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
स्वाबको माध्यमबाट परीक्षण गरिने एन्टिजेन प्रभावकारी रहेको डा. गिरीले बताए । आधा घन्टामै नतिजाआउने यो परीक्षणबाट पोजेटिभ देखिएका भारतीय नागरिकलाई सम्बन्धित उद्योगले नै होम आइसोलेसनमा राख्ने गरी जिम्मा दिइने डा. गिरीको भनाइ छ ।