बागलुङ– बागलुङमा आउँदो २० चैतदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने भएको छ । ११औँ पटक औषधी सेवन अभियान सञ्चालन भइसकेको बागलुङमा हात्तीपाइलेका बिरामी फेला परेकाले १२औँ पटक कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
स्वास्थ्य कार्यालय बागलुङका अनुसार यो अभियान २३ चैतसम्म सञ्चालन हुनेछ । बागलुङ नगरपालिकाको वडा नम्बर १४ नारायणस्थान र जैमिनी नगरपालिकाको वडा नम्बर १ कुश्मीसेरामा भएको जाँचमा बिरामी देखिएपछि पुनः औषधी खुवाउन थालिएको हो ।
नारायणस्थान र कुश्मीसेरामा २ महिना पहिला भएको परीक्षणमा १० जना नयाँ बिरामी फेला परेका थिए । नारायणस्थानमा ८ जना र कुश्मीसेरामा २ जनामा संक्रमण फेला परेको थियो । दुवै ठाउँमा ३ सय जनामा परीक्षण गरिएको थियो ।
आम औषधी सेवन कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुनेछ । परीक्षण गरिएकामध्ये १ प्रतिशतभन्दा कम मानिसमा संक्रमण देखिएको अवस्थामा मात्रै आम औषधि खाने अभियान सञ्चालन गर्नु नपर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
१ जना मात्रै संक्रमित औषधी खानबाट छुट्दा जिल्लाभर नै आम औषधि अभियान सञ्चालन गर्नुपर्ने अवस्था आउने हुँदा गुरौले सबै नागरिकलाई औषधी खान आग्रह गरे ।
२० चैतमा नजिकका स्वास्थ्य संस्था र २१ र २२ चैतमा घरघरै स्वास्थ्यकर्मी पुगेर औषधी खुवाउने तयारी रहेको कार्यालयका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् । २ लाख ८४ हजार ४ सय ७२ जनसंख्या रहेको बागलुङमा २ लाख ६४ हजार ८ सय ८६ जनालाई औषधी खुवाउने लक्ष्य छ ।
२ वर्षमुनिका बालबालिकाको संख्या ११ हजार ८ सय ४० र गर्भवती रहेका ७ हजार ७ सय ९६ जनाले यस पटक औषधी खाने छैनन् । औषधीले कुनै असर नगर्ने हुँदा ढुक्क भएर सेवन गर्न शर्माले आग्रह गरे ।
क्युलेस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको निवारण हुन १ प्रतिशतमा आइपुग्नुपर्छ । तर, नारायणस्थानमा केही वर्षअघि ३ प्रतिशत रहेकामा घटेर २ दशमलब ३ प्रतिशत पुगेको थियो ।
सन् २०१८ मा पुनः बढेर झन्डै ५ प्रतिशतमा उक्लिएपछि औषधी खुवाउनुपरेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । ‘१ पटक देखिएपछि २ वर्ष खुवाउनुपर्छ । पूर्वजाँच र औषधी सेवनपछिको जाँचमा १ प्रतिशतभन्दा कम भए मात्रै निवारण भएको मानिन्छ,’ उनले भने, ‘माघमा प्रि–जाँच गर्दा पुनः संक्रमित भेटिएकाले औषधी खुवाउने कार्यक्रम सञ्चालन हुँदै छ ।’ औषधी खुवाउनुपूर्वको जाँच नारायणस्थान र जैमिनी नगरपालिकाको कुश्मीसेरामा भएको थियो ।