close

स्वास्थ्यकर्मीको अनुभव: खोपदेखि अगुवा नै डराए

स्वास्थ्यकर्मीको अनुभव: खोपदेखि अगुवा नै डराए

Trulli
ADVERTISEMENT

ओखलढुंगा- ओखलढुंगामा कोरोना भाइरसविरुद्धको खोप १३ हजार बढीले लगाएका छन् । विभिन्न चरणमा सञ्चालित खोप अभियानमा स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी, जनप्रतिनिधि तथा सुरक्षाकर्मी र ज्येष्ठ नागरिकसहित १३ हजार ३ सय ४० जनाले खोप लगाएका हुन् । 

 

स्वास्थ्य कार्यालयका अनुसार ओखलढुंगामा ५५ वर्षमाथि जेष्ठ नागरिकलाई दोस्रो चरणमा खोप दिइएको छ । सरकारले ६५ वर्षमाथिकालाई दिने नीति ल्याए पनि सबैले पाउने भनेर गाउँपालिका तहमा जानकारी गराइएकाले थप खोप माग गरी ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिइएको हो । 

 

सुरुमा सबैले पाउने भन्ने खबर आएपछि अभिमुखीकरण सोहीअनुसार भए पनि परिपत्र फरक आएपछि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दोस्रो चरणमा खोप लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताए । 

 

तिवारीका अनुसार स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकलाई लगाएपछि ज्येष्ठ नागरिकलाई लगाउने अभियान जिल्लामा अन्तिम चरणमा पुगेको छ । जिल्लाका ७ स्थानीय तहमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिइसकिएको छ भने सदरमुकामसमेत रहेको सिद्धिचरण नगरपालिकामा ७ चैतसम्म लगाइसक्ने योजना रहेको तिवारीको भनाइ छ । 

 

सरकारले लक्षित गरेको समुदायका प्राथमिकता प्राप्त व्यक्तिमध्ये लिखु गाउँपालिकामा १ हजार ६ सय ९६, चम्पादेवीमा १ हजार ९ सय ८०, खिजीदेम्वामा १ हजार ८ सय ८६, चिशंखुगढीमा १ हजार ५ सय ५८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 

त्यस्तै, सुनकोसीमा २ हजार ९, मोलुङमा १ हजार ८ सय ३२ र मानेभञ्ज्याङमा २ हजार ३ सय ७९ जनाले खोप लगाए । ओखलढुंगामा १ हजार ५ सय भायल खोप उपलब्ध भएको थियो । यसमध्ये १ हजार २ सय ८३ भायल खर्च भइसकेको बताइएको छ ।

 

खोप लगाएकामध्ये ८ जनाले साधारण समस्या भएर स्वास्थ्यकर्मीसँग परामर्श लिएको पनि कार्यालयले जनाएको छ । अन्यलाई कुनै पनि प्रकारको समस्या नभएको स्वास्थ्य कार्यालयका प्रमुख तिवारी बताउँछन् । 

 

खोपदेखि अगुवा नै डराए

 

खोपले असर गर्छ भनेर मनौवैज्ञानिक त्रास हुँदा सुरुमा खोप लगाउन शिक्षित वर्ग र सरकारी निकायका पदाधिकारी नै अलमलमा परेका थिए । राजनीति दल र जनप्रतिनिधि नै अलमलमा परेपछि सर्वसाधारणलाई बुझाउन कठिन भएको स्वास्थ्यकर्मीको अनुभव छ । 

 

केही सुरक्षा निकायका प्रमुख, उपल्लो तहका जनप्रतिनिधि, बजार क्षेत्रका शिक्षित समुदाय र राजनीतिक दलका नेताहरू नै सुरुमा अलमलमा परेको तिवारीको अनुभव छ । 

 

उनले भने, ‘प्रमाणित र कुनै असर नहुने खोपबारेसमेत सुरुमा शिक्षित र बजार क्षेत्रका मान्छेले नै लगाउन आनाकानी गर्ने र भाग्ने गरेका थिए । लगाएका कोही पनि बिरामी नभएपछि बुझाउन सहज भयो ।’


सदरमुकामकै धेरैजसो बासिन्दा खोप लगाउन अनिच्छुक देखिएपछि कार्यालयले अन्य स्थानीय तहबाट खोप अभियान थालेको थियो । कुनै समस्या नरहेको र एक पटक नलाएकाले अर्को चरणमा नलगाइने हुँदा तोकिएको समुदायका व्यक्ति सबैलाई निर्धक्क भएर खोप लगाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।