ताप्लेजुङ- गाउँ-गाउँमा सडक पुगेपछि ताप्लेजुङका स्थानीय तहमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याउने होड चलेको छ ।
पछिल्लो समय मैवाखोला गाउँपालिकाले राजस्व छुटमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याउन पाउने गरी जिल्ला एम्बुलेन्स सञ्चालक समितिबाट निर्णय गराएको छ ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला एम्बुलेन्स सञ्चालक समितिले रीत पुगेका निवेदनउपर सुनुवाइ गर्दै राजस्व छुटमा खरिद गर्न पाउने गरी स्वास्थ्य र अर्थ मन्त्रालयमा सिफारिस गर्न पाउने व्यवस्था छ ।
प्रमुख जिल्ला अधिकारी चापागाईंले आवश्यक प्रक्रिया र कागजात पूरा गरी एम्बुलेन्स खरिदका लागि आएका आवेदनलाई क्रमशः किनारा लगाउँदै गएको जानकारी दिए ।
स्वास्थ्य कार्यालय ताप्लेजुङका तथ्यांक अधिकृत हेमराज कठायतका अनुुसार यो साता मात्र मैवाखोला गाउँपालिकाले राजस्व छुटमा एम्बुलेन्स खरिदका लागि सिफारिस पाउन दिएको निवेदनको सुनुवाइ गर्दै राजस्व छुटका लागि सिफारिस गर्ने निर्णय भएको छ ।
उनका अनुसार यसअघि सिदिङ्वा र मिक्वाखोला गाउँपालिकाले पनि राजस्व छुटमा एम्बुलेन्स खरिद गर्ने गरी सिफारिसपत्र लगेका छन् ।
सिदिङ्वा आफैंले एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइसकेको छ भने मिक्वाखोलालाई मेवा डेभलपर्स प्रालिले २ थान एम्बुलेन्स खरिद गरिदिने भएको छ । मेवा डेभलपर्स मिक्वाखोला गाउँपालिकाको केन्द्र साँवालाई केन्द्र बनाई करिब ५० मेगावाट क्षमताको विद्युत् उत्पादक प्रवद्र्धक कम्पनी हो ।
यस्तै, सिरिजंघा र फुङ्लिङ नगरपालिकाले समेत एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् । दुवै स्थानीय तहले भारतीय दूतावासबाट एम्बुलेन्स उपहार पाएका हुन् ।
९ स्थानीय तह रहेको ताप्लेजुङमा अब फक्ताङ्लुङ, पाथीभरा याङ्बरक, मेरिङ्देन र आठराई त्रिवेणी गाउँपालिकाले मात्र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन बाँकी छ ।