close

रौतामाई गाउँपालिकामा आँखा शिविर सम्पन्न, ९१ जनाले पाए नयाँ ज्योति

रौतामाई गाउँपालिकामा आँखा शिविर सम्पन्न, ९१ जनाले पाए नयाँ ज्योति

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको रौतामाई गाउँपालिकामा तीन दिने आँखा शिविर सम्पन्न भएको छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा गाउँपालिकाले सञ्चालन गरेको सो शिविरमा ९१ जनाको निःशुल्क आँखा अपरेसन गरिएको छ ।

 

शिविरमा ४६ पुरुष र ४५ जना महिलाको आँखा अपरेशन गरिएको हो ।

 

वर्षौँदेखि आँखा नदेख्ने भएर आफ्नो घरआँगन पनि बिरानो भएका वृद्धवृद्धाले पुनः आँखाको ज्योति पाएमा खुशी व्यक्त गरेका छन् ।

 

शिविरमा आर्थिक अभाव र वृद्ध उमेरका कारण आँखा नदेख्ने भएकाहरुको आँखाको निःशुल्क अपेरेसन गरिएको थियो ।

 

रौतामाई गाउँपालिका-२ भुट्टारका ९६ वर्षीय भरतसिंह खड्काले साँझ परेपछि राम्रोसँग आँखा देख्दैनथे । अपरेसनपछि केही गर्न सक्ने उनमा आँट आएको छ । ‘आँखा कम देख्न थालेपछि केही गर्न नसकिदो रहेछ’, उनले भने ‘राम्रोसँग देख्न सक्ने भएपछि अझै केही गर्ने साहस आउँदो रहेछ ।’ 

 

अर्का वृद्ध खड्गबहादुर मगरले पनि आँखाको ज्योति फेरि पाएपछि जोश जाँगर पलाएको बताएका छन् । विगत पाँच वर्षदेखि मोतियाविन्दुबाट उनी ग्रसित थिए ।

 

सबैको अपरेसन सफल भएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । ‘गाउँघरमा घुम्ने क्रममा धेरैको आँखाको समस्या छ भन्ने जानकारीमा आयो’, उनले भने, ‘त्यसैले आँखाका बिरामीलाई नयाँ जीवन दिन गाउँपालिकाले शिविर राखेको हो ।’

 

शिविरमा ६ सय ७८ जनाले सेवा लिएको अध्यक्ष खड्काले जानकारी दिए ।