रुकुम पूर्व- रुकुम पूर्वमा कोभिड‐१९ विरुद्धको खोप अभियान बिहीबारदेखि सुरु भएको छ । रुकुम पूर्वमा कोरोनाविरुद्धको पहिलो खोप स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले लगाएर अभियान सुरु भएको होे ।
रुकुम पूर्व अस्पताल रुकुमलाई खोप केन्द्र बनाई बिहीबारबाट पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको छ । पहिलो दिन २१ महिला २१ पुरुष गरी ४२ जनालाई खोप दिइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी निमप्रसाद गिरीले बताए ।
यसमध्ये स्वास्थ्य कार्यालय र रुकुम पूर्व अस्पतालका स्वास्थ्यकर्मीलगायत ३८ जना स्वास्थ्यकर्मी र ४ जना स्वास्थ्य संस्थाका कार्यालय सहयोगीलाई खोप दिइएको गिरीको भनाइ छ ।
पहिलो चरणको खोप १५ माघदेखि १० दिनको समयावधि गरी २४ माघसम्म जिल्लास्थित स्वास्थ्यकर्मीदेखि कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिएकालाई लगाइने सूचना अधिकारी गिरीले जानकारी दिए ।
१५ देखि १७ माघसम्म सिस्ने गाउँपालिकाभित्रका, १८, १९ माघमा भूमे गाउँपालिका, २०, २१ माघमा पुथाउत्तरगंगा गाउँपालिकाका स्वास्थ्यकर्मीलाई खोप दिइनेछ भने बाँकी २२ देखि २४ माघसम्म छुटेकालाई लगाइने कार्यतालिका बनेको छ । जिल्लामा १ हजार ४० डोजको खोप आएको छ ।