काठमाडौँ- नेपालमा कोरोना भाइरसविरूद्धको खोप अभियान आजदेखि सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १०:२३ मा खोप अभियानको औपचारिक शुभारम्भ गरेका हुन् ।
दक्षिण एसियामा कोरोना खोप अभियान चलाउने भारतपछि दोस्रो मुलुकको रुपमा नेपाल भएको छ । काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहनेछन् । भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा उक्त खोप नेपाल आएको हो ।
स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ ।
खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउनेछन् ।
खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने तथा वाकवाक लाग्नेजस्ता समान्य असर देखिने बताइएको छ ।