अछाम- अछाममा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । कोरोना संक्रमित निको भएर घर फर्केपछि सक्रिय संक्रमितको संख्या शून्य भएको स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको हो ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी देव जोशीका अनुसार आइतबारसम्मको रिपोर्टअनुसार जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य छन् ।
हालसम्म जिल्लाभर १३ हजार २ सय २७ जनाको स्वाब संकलन गरिएको थियो, जसमध्ये १ हजार ६ सय ६८ जनामा कोरोना संक्रमण देखिएको थियो भने ११ हजार ४ सय ९४ जनाको नेगेटिभ रिपोर्ट आएको थियो ।
संक्रमितमध्ये सबैभन्दा बढी सदरमुकामसमेत रहेको मंगलसेन नगरपालिकामा ४ सय ५० जना र कम ढकारी गाँउपालिकामा ३१ जना रहेका थिए ।
यस्तै, कमलबजार नगरपालिकाका १ सय ३ जना, तुर्माखाँदका ७२ जना र पञ्चदेवल विनायकका १ सय २ जना संक्रमित थिए ।
यस्तै, बान्नीगढी जयगढ गाउँपालिकाका १ सय ८३ जना, मेल्लेखका १ सय ४७ जना, रामारोशनका १ सय ८४ जना, साँफेबगरका ३ सय जना र चौरपाटीका ९६ जना संक्रमित थिए ।
सबै १ हजार ६ सय ६३ जना निको भएर घर फर्केसँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितका संख्या शून्य भएको हो ।
हालसम्म जिल्लामा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरपाटीका १ जना, बान्नीगढी जयगढका २ जना, रामारोशनका १ जना र साँफेबगरका १ जना छन् ।
स्थानीय तहमा स्वाब संकलन हुनै छाड्यो
अछामका १० स्थानीय तहमा स्वाब संकलन हुनै छाडेको छ । सुरुमा स्वाब संकलन गरी कोरोना परीक्षण भए पनि हाल छिटफुटबाहेक स्वाब संकलन भएको पाइँदैन ।
अछामको एक मात्र कोरोना परीक्षणका लागि स्थापना भएको कमलबजार पीसीआर प्रयोगशालामा न्यून संख्यमा मात्र स्वाब आउने गरेको प्रयोगशालाले जनाएको छ ।
स्वाब संकलन नहुँदा कोरोना संक्रमणको दर घटेको हुनसक्ने अनुमान गरिएको छ ।