close

गोकुलगंगामा बल्ल तयार भयो कोरोना अस्पताल 

गोकुलगंगामा बल्ल तयार भयो कोरोना अस्पताल 

Trulli
ADVERTISEMENT

रामेछाप- रामेछापको गोकुलगंगा गाउँपालिकामा ५ शय्याको अस्पताल सञ्चालनमा आएको छ । गाउँपालिकाले गत वर्ष निर्माण सम्पन्न गरेको ५ शय्याको अस्पताल सोमबारदेखि स्थानीयलाई सेवा दिने गरी सञ्चालनमा ल्याइएको हो ।

 

‘स्थानीय सरकार आएपछि जग्गा खरिद गरेर निर्माण सुरु गरिएको अस्पतालले अब स्थानीयलाई सहज रूपमा उपचार गर्नेछ’, गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले भने, ‘अस्पताल उद्घाटनपछि यहाँका नागरिकले गाउँमै स्वास्थ्योपचार सुविधा पाउनेछन् ।’


एक स्थानीय तह एक अस्पताल बनाउने संघीय सरकारको नीतिअनुसार गोकुलगंगामा पहिलो चरणमै अस्पताल निर्माण सम्पन्न भएको पालिका अध्यक्ष सुनुवारले बताए ।

 

अध्यक्ष सुनुवारका अनुसार अस्पताल सञ्चालन अवसरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २ सय बढी स्थानीयले स्वास्थ्य सेवा लिएका छन् ।

 

गाउँपालिका र च्वाइस नेपाल संस्थाको संयुक्त लगानीमा निर्माण भएको अस्पताल बनाउन ४ करोड ७६ लाख ७४ हजार ३ सय ५५ रुपैयाँ खर्च भएको गाउँपालिका उपाध्यक्ष राधिका श्रेष्ठले बताइन् ।

 

उपाध्यक्ष श्रेष्ठका अनुसार गाउँपालिकाको २ करोड १३ लाख २० हजार र च्वाइस नेपालको २ करोड ६३ लाख ५४ हजार ३ सय ५५ रुपैयाँ खर्च भएको छ ।

 

अस्पताल निर्माण भएसँगै एक्सरे, भिडियो एक्सरे, प्रसूति सेवा, ईसीजी सेवा, मातृशिशु सेवालगायत सुविधा लिन पालिकाबासीलाई सदरमुकाम मन्थलीदेखि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको उपाध्यक्ष श्रेष्ठले दाबी गरिन् ।

 

पालिका केन्द्र नजिकै बनेको अस्पतालबाट गाउँपालिकाका ६ वटै वडा, उमाकुण्ड गाउँपालिकाको केही वडा र दोलखाको जिरी नगरपालिकाका केही वडाका नागरिकले स्वास्थ्य सेवा लिन सक्नेछन् ।