विराटनगर– कोरोना भाइरसको नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएसँगै विराटनगर महानगरले थप तयारी थालेको छ ।
संक्रमणको अवस्थावारे सचेत रहन स्वास्थ्यविज्ञहरूले आग्रह गरिरहँदा महानगर परीक्षणको तयारीसहित थप व्यवस्थापनमा जुटेको हो । कोभिड संक्रमण भएको आशंका लागे महानगरका वडास्थित स्वास्थ्य कार्यालय वा जनप्रतिनिधिसँग सोझै सम्पर्क गर्न सकिनेछ ।
कोभिड परीक्षणको नयाँ प्रविधि एन्टिजेन टेस्टको सुरुआत महानगरले गरेको छ । सोमबार विराटनगर महानगरप्रमुख भीम पराजुलीले यो कार्यक्रम सुरु गरे ।
पहिलो टेस्ट नगरप्रमुख पराजुलीमै गरिएको छ । पराजुलीको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना सक्रमण भए÷नभएको रिजल्ट द्रुत गतिमा हेर्न सकिने भएकाले धेरै मानिसले पहिलेजस्तो झन्झट बेहोर्नुपर्ने छैन ।
२० मिनटभित्रै यसको रिजल्ट थाहा पाइने भएकाले धेरै मानिसलाई सेवा दिन सकिने विराटनगर महानगरका स्वास्थ्य निरीक्षक दिलीप यादवले जानकारी दिए । विराटनगर महानगरले सुरु चरणमा ९ जनामा गरेको टेस्टमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
यो टेस्टमा ल्याब टेक्निसियन अधिकृत मानिकचन भगत, ल्याब टेक्निसियन नीता लुइँटेल खटिएका छन् । उनीहरू यसअगाडि महानगरले सञ्चालन गरेको कोभिड परीक्षणमा खटिएका थिए ।