close

स्वास्थ्य बीमाले बदलेको ओखलढुंगावासीकाे स्वास्थ्य (भिडियाे खबर )

स्वास्थ्य बीमाले बदलेको ओखलढुंगावासीकाे स्वास्थ्य (भिडियाे खबर )

ADVERTISEMENT

ओखलढुंगा- नेपाल सरकारले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्न स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ ।

 

आर्थिक वर्ष २०७३/०७४ देखि सुरु भएको यो कार्यक्रम अहिले ७७ जिल्लामै पुगेको छ । स्वास्थ्य बीमा गर्ने नागरिकले १ लाख रुपैयाँसम्मको औषधोपचार सेवा निःशुल्क पाउँदै आएका छन् । 


ओखलढुंगामा २०७५ सालदेखि सुरु भएको यो कार्यक्रमबाट १८ हजार नागरिक लाभान्वित भएका छन् । 


नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न सरकारले स्वास्थ्य बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७४ जारी गरेको छ । यो ऐनअनुसार स्वास्थ्य बीमा बोर्ड गठन भई नेपालका ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । 

 

बीमा गरेपछि नागरिकले १ लाख रुपैयाँसम्मको औषधोपचार सेवा निःशुल्क पाउने व्यवस्था छ । स्वास्थ्य बीमा लागू भएपछि ओखलढुंगाको १ लाख ४७ हजार जनसंख्यामध्ये ८ स्थानीय तहका १८ हजार १७४ जना नागरिकले बीमा गराएका छन् ।

 

बीमा गराएका नागरिकले जिल्लाका ३ वटा स्वास्थ्य संस्थाबाट उपचार सेवा लिइरहेको ओखलढुंगाका स्वास्थ्य बीमा बोर्ड प्रमुख सुदीप कार्कीले बताए ।


स्वास्थ्य बीमा बोर्डको प्रावधानअनुसार निश्चित समूहका व्यक्ति तथा परिवारको पूर्ण निःशुल्क र आधा शुल्कमा पनि बीमा गरिन्छ । ७० वर्ष नाघेका ज्येष्ठ नागरिक, पूर्ण अपांगता भई सेवा पाएका व्यक्ति, एड्स र क्षयरोगका बिरामीको भने पूर्ण निःशुल्क हुने व्यवस्था छ । 

 

तर, यस्तो निःशुल्क बीमाको प्रचारप्रसार ज्येष्ठ नागरिकसम्म कम पुगेको ज्येष्ठ नागरिक जिल्ला संघ, ओखलढुंगाका अध्यक्ष जीवन शर्मा बताउँछन् ।

 

स्वास्थ्य बीमा गर्ने महिला स्वास्थ्य स्वयंसेविका र निजका परिवारलाई बीमा शुल्कमा आधा छुटको व्यवस्था छ । बीमा गरेपछि प्रारम्भिक सेवा केन्द्र तोकिएका अस्पतालबाट सेवा लिँदा प्रतिव्यक्ति १ लाख रुपैयाँसम्मको उपचार निःशुल्क हुन्छ ।

 

ओखलढुंगामा जिल्ला अस्पताल रुम्जाटार, सामुदायिक अस्पताल मिसन ओखलढुंगा र प्राथमिक स्वास्थ्य केन्द्र रानीवनबाट यस्तो सेवा लिन सकिन्छ । 

 

नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न स्वास्थ्य बीमा बोर्ड र खटाइएका अभिकर्ताले गाउँ तहसम्मै प्रचार प्रसार गर्ने र अभिकर्तालाई पनि क्षमता विकास गर्नुपर्ने मोलुङ गाउँपालिका वडा नम्बर- ७ का वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताए ।


जिल्लाका ७५ वटै वडामा वडा कार्यालयले बीमा अभिकर्ता छनोट गरेर खटाएको छ । बीमा गरेपछि टिकटको समेत पैसा तिर्नु नपर्ने भएकाले सदरमुकाममा रहेको सामुदायिक अस्पतालमा बीमाका लाभग्राहीलाई सहज भएको छ ।

 

चम्पादेवीको प्राथमिक स्वास्थ्य केन्द्र रानीवनमा डाक्टर नहुँदा चम्पादेवी र लिखुका नागरिक भने रामेछाप धाउन बाध्य छन् । निःशुल्क उपचार सेवा प्रवाह गर्ने सम्झौता भएका स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी र औषधिको व्यवस्था गर्न स्थानीय तहले ध्यान दिन आवश्यक छ ।