close

काेराेनाकाे श‌ंका छ ? स्वाब लिन घरघरमै आउँदै छ काठमाडाैं महानगर

काेराेनाकाे श‌ंका छ ? स्वाब लिन घरघरमै आउँदै छ काठमाडाैं महानगर

Trulli
ADVERTISEMENT

काठमाडौं-  काठमाडौं महानगरपालिकाले पीसीआर परीक्षणका लागि नागरिकको घरघरमा गएर स्वाब संकलन तीब्र बनाएको छ  ।


कोरोना पोजिटिभ देखिएका व्यक्तिहरूको ट्रेसिङमा परेका र अस्पतालसम्म परीक्षणका लागि जान नसक्ने नागरिकहरूको स्वाब संकलन गर्दै आएको महानगरले जनाएको छ ।


अशक्त, अपांगता भएका, वृद्धवृद्धा, बालबालिकाका लागि घरघरमै गएर स्वाब संकलन गरिएको छ भने कन्ट्याक्ट ट्रेसिङमा परेका युवाका लागि कुनै निश्चित ठाउँमा स्वाब संकलन गरिएको जनस्वास्थ्य विभागका प्रमुख हरि कुँवरले जानकारी दिए ।


उपत्यकामा संक्रमणको दर बढ्दै गएपछि महानगरले मोबाइल भ्यानमार्फत घरघरमा गएर स्वाब संकलनको कामलाई तीब्रता दिएको हो । महानगरले कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएका, अस्पताल जान नसक्ने अवस्थाका जेष्ठ नागरिक र असहायहरूको स्वाब संकलन गरिरहेको महानगरले जनाएको छ ।


सो भ्यानमार्फत दैनिक ५० देखि ६० जनाको स्वाब संकलन गरिएको महानगरले जनाएको छ । महानगरले मोबाइल भ्यानमार्फत स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि पठाउने गरेको पनि उनले बताए ।


वडा- ११ का सहायक सचिव सर्वज्ञराज पौडेलले वडाहरूमा ट्रेसिङमा परेका व्यक्तिहरूको तथ्यांक संकलन गरी महानगरको जनस्वास्थ्य विभागको समन्वयमा स्वाब संकलन भइरहेको बताए । उनले संक्रमणको दर बढिरहेकाले अनावश्यक रूपमा घर बाहिर ननिस्किन पनि सर्वसाधारणहरूलाई आग्रह गरेका छन् ।


काठमाडौंमा दिनदिनै संक्रमितहरूको संख्या बढिरहेकाले महानगरपालिकाले निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलनलाई तीब्रता दिएको हो ।