बाजुरा– सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माण गर्न सबै स्थानीय तहमा बजेटसहित निर्देशन गरेको छ । तत्काल तिन महिनाका लागि बजेट व्यवस्थापनसहित बाजुराका सात स्थानीय तहमा संघीय सरकारले १० लाखका दरले वजेट पनि पठाएको छ ।
तर, बाजुराका नौमध्ये सातमा अस्थायी कोभिड अस्पताल स्थापना गर्न बजेट पठाए पनि सात वटै स्थानीय तहले एक जना चिकित्सक पनि पूर्ति गर्न सकेका छैनन् ।
सरकारले कोभिड अस्पतालका लागि एक मेडिकल अधिकृत, दुई स्टाफ नर्स, एक ल्याब टेक्निसियन र एक कार्यालय सहयोगी राख्न बजेटसहितको व्यवस्थापन गरेको थियो । तर, बाजुराका सात वटै स्थानीय तहले एक महिना अवधि राखेर विज्ञापन आह्वान गरे पनि एक जना चिकित्सकले विज्ञापनमा दरखास्त नदिएको स्थानीय तहले बताए ।
सात वटै स्थानीय तहले पहिलो पटक एक महिने सूचना प्रकाशित गरेर विज्ञापन आह्वान गरेको समयसमेत सकिइसकेको छ ।
‘एक महिने सूचना निकाल्दासमेत अहिलेसम्म १ जना पनि सम्पर्कमा आएका छैनन् । सरकारी तलब स्केलमा बजेट पठाइएको छ तर मेडिकल अधिकृतले न्यूनतम १ लाखभन्दा बढी माग्ने गरेका छन्’, बूढीगंगा नगरपालिका स्वास्थ्य संयोजक दीपक शाहले भने ।
बडिमालिका नगरमा जिल्ला अस्पताल छ भने बूढीनन्दामा प्राथमिक स्वास्थ्य केन्द्र छ । यी दुवै ठाउँमा मेडिकल अधिकृत रहेका छन् । गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया भन्छन्, ‘पत्रिकामार्फत विज्ञापन पनि गरायौं । व्यक्तिगत रुपमा खोजी भए पनि मेडिकल अधिकृत पाउन सकिएन । गाउँपालिकाले थप बजेट व्यवस्थापन गर्ने भनिए पनि चिकित्सक पाउन सकिएन ।’
स्वामिकार्तिक खापरले दोस्रो पटक सूचना निकाले पनि एक जनाको दरखास्त नपरेको गाउँपालिकाले जनाएको छ । ‘पहिलो पटक गाउँपालिकाले प्रकाशित गरेको सूचनामा दरखास्तै परेन । दोस्रो पटक विज्ञापन गर्दा एक जनाको पनि दरखास्त परेको छैन’, गाउँपालिकाका सूचना अधिकारी कुमेरबहादुर शाहीले भने ।
स्टाफ नर्स र अन्य कर्मचारी भर्ना गरिसके पनि मेडिकल अधिकृत अहिलेसम्म पाउन नसकिएको उनले बताए ।
संघीय सरकारले पहिलो पटक तीन महिनाका लागि १० लाख पठाएको छ । चार लाख ५० हजार तलब खर्च र पाँच लाख ५० हजार अस्थायी कोभिड अस्पताल व्यवस्थापनका लागि बजेट पठाएको छ ।
बाजुरामा कोरोना चेकजाँच नभए पनि स्वाब संकलन गरेर जिल्ला बाहिर पठाउने गरिएको छ । जिल्लामा अहिलेसम्म संक्रमितको संख्या पाँच सय ९२ पुगेको छ भने दुई जनाको मृत्यु भइसकेको छ ।