याम माबोहाङ लिम्बू
इलाम, २८ कात्तिक
इलामका स्थानीय सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि हालसम्म पाँच करोड ५१ लाख ९७ हजार ६ सय ९१ रुपैयाँ खर्च गरेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लाको दस वटै स्थानीय तहले गरेको यो खर्च गत १२ चैतदेखि असार मसान्तसम्मको हो ।
जिल्लाको चार नगरपालिकामा दुई करोड ७४ लाख ५१ हजार पाँच सय १३ खर्च भएको छ । ६ गाउँपालिकाले दुई लाख ७६ लाख ५६ हजार एक सय ७८ रुपैयाँ खर्च गरेको तथ्यांक छ ।
जिल्लाको सूर्योदय नगरपालिकाबाहेक कुनै पनि स्थानीय तहले पालिका स्तरमा सार्वजनिक नगरेको कोरोना भाइरस खर्च जिल्ला समन्वय समितिको समीक्षा बैठकमा प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ ।
९ स्थानीय तहले कोरोना नियन्त्रणमा गरेका काम र भएको खर्च विवरण अहिलेसम्म सार्वजनिक गरेका छैनन् ।
गत १२ र १३ भदौमा भएको जिल्ला समन्वय समितिको समीक्षा बैठकमा प्रस्तुत तथ्यांकअनुसार कोभिड–१९ नियन्त्रणमा सबैभन्दा धेरै खर्च इलाम नगरपालिकाले गरेको छ । नगरपालिकाले ९३ लाख ५८ हजार ७ सय ५२ खर्च गरेको हो ।
नगरपालिकाले १२ वटै वडामा लकडाउनको समय समस्यामा परेका २५ सय घरपरिवारलाई ५६ लाख ८७ हजार एक सय ८३ रुपैयाँ बराबरको राहत वितरण गरेको छ ।
विपन्न तथा असंगठित नगरबासीलाई दैनिक उपभोग्य दाल, चामल, नुन, तेल, साबुन र चिनी वितरण गरिएको नगरपालिकाका सूचना अधिकारी रामकुमार शाहले जानकारी दिए ।
यस्तै, माई नगरपालिकाले ४८ लाख ५० हजार खर्च गरेको छ । माईको खर्च चार नगरपालिकामध्ये सबैभन्दा कम रहेकोे छ ।
नगरपालिकाले कोरोनाले समस्यामा परेका २३ सय घरपरिवारलाई २५ लाख बराबरको राहत वितरण गरेको छ । विपन्न नगरबासीलाई दाल, चामल, तेल, नुन, साबुन र चिनी बाँडिएको थियो ।
सूर्योदय नगरपालिकाले ७५ लाख ६६ हजार सात सय आठ रुपैयाँ खर्च सार्वजनिक गरेको छ । नगरपालिकाले कोरोना नियन्त्रण गर्न सीमावर्ती पशुपतिनगरमा निगरानी र सचेतनाका काम चलाइरहेको छ ।
पशुपतिनगर नाकाबाट बाक्लो आउजाउ भएका कारण बढी जोखिममा रहेको नगरपालिकाले पशुपतिनगर, कर्फोक, कन्यामलगायत पाँच स्थानमा सात सय बेडको क्वारेन्टाइन निर्माण गरेको छ ।
क्वारेन्टाइन व्यवस्थापन, नेपालका विभिन्न स्थान, भारत र अन्य देशबाट आएकाहरूको उद्धारमा भएको खर्च सार्वजनिक गर्ने सूर्योदय जिल्लामै पहिलो नगर भएको छ ।
देउमाई नगरपालिकाले ५६ लाख ७६ हजार ५३ रुपैयाँ खर्च गरेको छ । क्वारेन्टिन निर्माण र व्यवस्थापनमा २२ लाख २९ हजार दुई सय ९४ खर्च गरेको तथ्यांक छ ।नगरपालिकाले सबै वडामा २५ बेड, इन्टरनेटसहितको क्वारेन्टिन निर्माण गरेर सञ्चालन गरिरहेको बताएको छ ।
६ पालिकामा पौने तीन करोड खर्च
इलामका ६ पालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा दुई करोड ७६ लाख ५६ हजार एक सय ७८ रुपैयाँ खर्च गरेका छन् ।
गाउँपालिकामध्ये सबैभन्दा धेरै सन्दकपुरले खर्च गरेको छ । सन्दकपुरले ६१ लाख ९० हजार एक सय १३ रुपैयाँ खर्च गरेको जनाएको छ ।
लकडाउनका बेला अतिविपन्न एक सय ६३ घरपरिवारलाई राहत सहयोग गरेको नगरपालिकाको तथ्यांकमा उल्लेख छ । ‘विपन्न परिवारलाई चामल, नुन, तेल, चिनीलगायतको दैनिक खाद्य सामग्री वितरण गरेका छौं’, पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले भने ।
माङ्सेबुङले कोभिड–१९ नियन्त्रण शीर्षकमा ५८ लाख ४६ हजार ६ सय १६ खर्च गरेको छ ।
चुलाचुलीले ५४ लाख ४२ हजार खर्च गरेको जनाएको छ । लकडाउनका बेला एक हजार पाँच सय ३९ घरपरिवारलाई राहत वितरण गरिएको पालिकाले बताएको छ । राहत वितरणमा १८ लाख ४९ हजार ६ सय ७२ खर्च भएको छ ।
राहतमा प्रतिव्यक्ति पाँच केजीका दरले चामल दिइएको थियो । रोङ गाउँपालिकाले ४५ लाख ९८ हजार दुई सय ४० रुपैयाँ खर्च गरको तथ्यांक सार्वजनिक गरेको छ । यसमा अन्य खर्च विवरण भने उल्लेख छैन ।
माईजोगमाईले २८ लाख ९२ हजार ६ सय १० खर्च गरेको छ । महामारीको समय तीन सय ९ घरपरिवारलाई राहत वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
जिल्लाका ६ गाउँपालिकामध्ये कोरोना नियन्त्रणमा सबैभन्दा कम फाकफोकथुमले खर्च गरेको छ । गाउँपालिकाले २६ लाख ८६ हजार पाँच सय ४९ खर्च गरेको तथ्यांक छ ।
इलामामा बिहीबारसम्म ६ हजार ७२ जनाको परीक्षण गर्दा एक सय ६० जनाको कोरोना पोजेटिभ फेला परेका छन् । तीमध्ये एक सय ५२ उपचारपछि घर फर्केको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । तर, कति मृत्यु भयो, त्यसबारे कार्यालयले तथ्यांक सार्वजनिक गरेको छैन ।