close

रुकुम पश्चिमका आइसोलेसन रित्तिए

रुकुम पश्चिमका आइसोलेसन रित्तिए

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम - सरकारले कोरोना परीक्षण र संक्रमितलाई आइसोलेसनमा राखे शुल्क लिने भनिएपछि रुकुम पश्चिमका अधिकांश आइसोलेसन खाली भएका छन् । जिल्लाका सबै स्थानीय तहले आइसोलेसन निर्माण गरेका छन् । चौरजहारीबाहेक अन्य स्थानीय तहका आइसोलेसन खाली भएका छन् । 


जिल्लामा हाल १५ कोरोना संक्रमितमध्ये २ जना जिल्लाबाहिर रहेका छन् भने १३ सक्रिय संक्रमित रहेकामा ४ जना चौरजहारी नगरपालिकाको आइसोलेसनमा छन् । त्यस्तै, जिल्ला प्रहरी कार्यालयमा कार्यरत ६ जना संक्रमित प्रहरी  पनि प्रहरी कार्यालयको आइसोलेसनमा छन् । 

 

कुनै कार्यालय विशेषबाहेकका सर्वसाधारण कोरोना संक्रमित घरमै बस्ने गरेका छन् । सरकारले परीक्षण र आइसोलेसनमा राखेबापत शुल्क लिने निर्णय गरेपछि जिल्लामा होम आइसोलेसनमा बस्नेहरूको संख्या बढेको हो । 

 

जिल्लाका स्थानीय तहहरूले परीक्षण गरेको र आइसोलेसनमा राखेको शुल्क लिने विषयमा भने कुनै निर्णय गरेका छैनन् । तर, संक्रमितहरू आफैं घरमै बस्न चाहिरहेको स्थानीय तहको दाबी छ । 

 

अहिले जिल्लाको चौरजहारी नगरपालिकामा-५, सानीभेरी गाउँपालिकामा-१, मुसीकोट नगरपालिकामा प्रहरीसहित आठ र आठबीसकोट नगरपालिकामा एक सक्रिय संक्रमित छन् । जिल्लामा अहिलेसम्म अधिकांश कोरोना संक्रमितको अवस्था सामान्य रहेकाले पनि घरमै बस्नेहरूको संख्या बढी रहेको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले बताए । 

 

त्यस्तै, जिल्लामा रहेका सबै क्वारेन्टाइन हटाइएको छ । अहिले चौरजहारीबाहेक अन्य ठाउँमा क्वारेन्टाइन छैनन् । अधिकांश क्वारेनटाइन विद्यालयमा रहेका थिए ।


अहिले चौरजहारीमा ७ जना  क्वारेन्टाइनमा रहेका छन् । चौरजहारीले भारत तथा अन्य देशबाट आएका व्यक्तिहरूलाई पिसीआर नतिजा नआउन्जेलसम्म अनिवार्य क्वारेन्टाइन राख्ने गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी बताए  । 

 

अन्य स्थानीय तहले भने कसैलाई पनि क्वारेन्टाइनमा राख्ने गरेका छैनन् । सबै क्षेत्र खुलिसकेकाले बाहिरबाट आउजाउ गर्ने पत्तो पाउन छाडिएकाले क्वारेन्टाइन हटाइएको स्थानीय तहको तर्क छ । सुरु-सुरुमा क्वारेन्टाइनमा ध्यान दिएका स्थानीय तह पछिल्लो समय भने आइसोलेसन व्यवस्थापनमा समेत गम्भीर छैनन् ।